Play

म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु

गुरुकुल खबर


♦ध्रुवसागर शर्मा
गलेश्वर । संघ र प्रदेशको निर्वाचन आउन अब करिब साढे तीन महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् ।

चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेखि ‘जनताको साथमा कांग्रेस’ नामक एकमहिने अभियान सञ्चालन गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकर्ता भेला, संगठन सुदृढीकरण, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माणलगायत कार्यक्रम सकेर ‘जनताको साथमा कांग्रेस’ अभियानलाई तीव्रता दिइएको जिल्ला कार्य समितिका सचिव हीराबहादुर पुनले जानकारी दिए ।

जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन पार्टी पङ्क्तिलाई चुस्तरुपमा परिचालन गर्ने बताए । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न उनले निर्देशन दिएका छन् । वर्तमान सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीको नीति ,विचार, सिद्धान्त तथा कार्यक्रमका बारेमा सबै नागरिकलाई बुझाउन आवश्यक रहेकाले यो अभियान संचालन गरिएको उनले बताए ।

नेकपा (एमाले)ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा (माओवादी केन्द्र) ले जिल्ला समन्वय समितिको बैठक बसेर संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाइ सिफारिससमेत गरिसकेको छ । एमालेका जिल्लाअध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण संचालन भइसकेको बताए ।

निर्वाचनलाई लक्ष्य गरेर नेकपा ९एमाले० ले एकमहिने अभियानअन्तर्गत जिल्लाका वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको छ । एमालेले पार्टी अभियान र निर्वाचन लक्षित रणनीतिक योजनासहित पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई क्रियाशील बनाउन निर्देशनसमेत दिएको छ । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि राजनीतिक दलका नेताहरु गाउँ पसेपछि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर नेता कार्यकर्ता गाउँ पसेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले त प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क)मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम नै सिफारिस गरिसकेको जनाएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका विनोद केसी र क्षेत्र ९ख०मा एमालेकी नरदेवी पुन विजयी भएका थिए । यसपटकको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढेका भए पनि मतदाता तथा कार्यकर्ताको मनोभावना, बुझेर उम्मेदवार चयन गर्ने नेताहरुको भनाइ छ ।

विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउने दलका नेताहरुले बताएका छन् । गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७ वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र छ वडा जितेका थिए ।

यसपटकको निर्वाचनमा जनताका अपेक्षा पनि बुझेर उम्मेदवार छनोट गर्ने मनस्थितिमा दलहरु देखिन्छन् । स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, नेताहरूको वरिपरि घुम्नेभन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, जनभावना बुझ्ने र गाउँ केन्द्रित हुने खालको उम्मेदवार पहिचान गरेर भोट दिने मनस्थितिमा म्याग्देली जनता रहेका छन् ।

रासस

१२ भाद्र २०७९, आईतवार १३:२१ मा प्रकाशित
Nabintech