Play

प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि क्षितिज र दिलाशालाई

गुरुकुल खबर


पोखरा , कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी उचालेका हुन् ।

१–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि उनी च्याम्पियन बनेका हुन् । विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए । उनले २० हजार रुपैयाँ हात पारे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापाले तेस्रो हुँदै १०÷१० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् । उनले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपालले तेस्रो हुँदै १० हजार प्राप्त गरिन् ।

महिला डबल्सतर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले । उनीहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधि चुम्न सफल भए । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दीपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्सतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे ।

महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले बजानकारी दिए । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

संघका अध्यक्ष सुशील कुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्काले राखेको थिए भने शुभकामना मन्तव्य संजयकुमार अधिकारीले राखेका थिए । कार्यक्रम संघका सचिव फणिन्द्र तिमिल्सिनाले संचालन गरेका थिए ।

 

१३ असार २०७९, सोमबार ०९:५६ मा प्रकाशित
Nabintech