पोखरा साउन ९ । कोरोना संक्रमित भई पोखरामा विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल र मणिपाल अस्पतालमा उपचाररत तिन पुरुष र एक महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले शनिबार जानकारी दिएको छ ।
निर्देशनालायका अनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कास्की रुपा गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै साउन १ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार १३ का ७६ वर्षीय पुरुषको शनिबार निधन भएको हो । गत असार २७ गते कोरोना संक्रमण पुष्टि भई मेडिप्लस अस्पताल पोखरामा उपचाररत स्याङ्जा भिरकोट ७ का ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
शुक्रबार नै कोरोना संक्रमण पुष्टि भई मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत महाशिला ५ की ५३ वर्षीय महिलाको सोहि दिन उपचारको क्रममा मृत्यु भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५० पुगेको छ ।