काठमाडौं, नेपाली कांग्रेसको काठमाडौँमा जारी १५ औं महाधिवेशन अन्तर्गतको मतदान कार्य शुक्रबार बिहानबाट सुरू हुने भएको छ । बिहिबार बिहानबाट मतदान हुने सूचना सार्बजनिक गरेको निर्बाचन समितिले मतदानका लागि आवश्यक तयारी नपुगेको भन्दै पटक पटक समय सार्दैअन्तिम समयमा आएर मतदान प्रक्रिया शुक्रबार बिहानको लागि लागि सारेको छ ।
महाधिबेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरू हुने जानकारी दिएका छन् । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि नै थालिने बताए ।
मतदानको समय पटक पटक सर्दै गएपछि उमेदवारहरु र तिनका समर्थकहरुले बिभिन्न किसिमबाट प्रचार प्रसारलाई निरन्तरता दिंदै आएका छन । निर्बाचनमा प्रचार प्रसारको क्रममा निर्बाचन आचारसंहिता उल्लङ्घन गरेर उमेदवार र तिनका समर्थकले प्रचार प्रसार गरिरहेको निर्बाचन समितिले स्वीकार गरेको छ। खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने,’हामीले डिजिटल्ली प्रचारप्रसार गर्ने भनेका थियौँ। तर पोस्टर असरल्ल हुने गरी प्रचारप्रसार भएको पाइएको छ । छरपस्ट छरिएका पोस्टर स्वयंसेवक लगाएर हटाउँछौँ।’

खड्काका अनुसार मतपत्र धेरै भएकाले ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको छन । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि ‘मिडिया ब्रिफिङ’मा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने जानकारी दिए । उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए ।

निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरेको छ । संयोजक खड्काकाअनुसार राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्ने छन् । निर्वाचन समितिले बागमती प्रदेशमा १४ सय ९१ जना महाधिवेशन प्रतिनिधि रहेको जनाएको छ । खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने छन् ।
खुलामञ्चमा बन्दसत्रका लागि तयार गरिएका तीन वटा हलहरूलाई मतदान केन्द्रका रुपमा परिणत गरिएको छ । जनअनुसार तराई–मधेश हललाई कोशी र मधेश प्रदेशका लागि छुट्याइएको छ । हिमाल हलमा गण्डकी प्रदेशका मतदातले मतदान गर्ने छन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने समितिले जनाएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा एक, खुलामञ्चमा रहेको तराई–मधेश हलमा दुई, हिमाल हलमा एक र पहाड हलमा दुईवटा बुथ स्थापना गरेको छ । एक बुथमा २३ वटा मतपेटिकाहरू राखिएको छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख मतपत्रहरू छापेको छ ।

एकजनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको बताएका छन् । निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा लगिने बताएको छ । संयोजक खड्काले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सानेपा लगेर आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना सुरू हुने बताएका छन् ।
१५औं महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने छ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको समितिले जनाएको छ ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोन लगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने बताएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउने सदस्य सचिव कटुवालको भनाइ छ । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाइँ खर्च र खाना खर्च पार्टीले नै ब्यहोर्ने बताए ।













