पोखरा, पोखरा महानगरपालिका -१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको संचालक समितिको अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल चयन भएका छन् । शनिबार सम्पन्न क्याम्पस सञ्चालक समितिको पाँचौं अधिवेशनले पौडेल अध्यक्ष रहेको ११ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित समितिको सदस्यमा नरनाथ भट्टराई, विनोद अधिकारी, हरिबहादुर बरुवाल, उषा बरुवाल, मीनबहादुर गुरुङ, मोहनकुमार सुनार, बलबहादुर श्रेष्ठ, प्रकाश तिमिल्सिना, टेकनाथ आचार्य र विष्णु नेपाली रहेका छन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
अधिवक्ता शालिकराम भट्टराईको अध्यक्षतामा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया पूरा गरेको थियो । समितिमा रुद्रबहादुर थापा, अग्निधर शर्मा, हिमलाल आचार्य र रुद्रनाथ देवकोटा सदस्य थिए । नवनिर्वाचित अध्यक्ष पौडेलले आफू निरन्तर शैक्षिक क्षेत्रको विकासमा लागिरहेको बताउँदै शिक्षामा राजनीतिको प्रभाव पर्न नहुने धारणा राखेका थिए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै क्याम्पसका संस्थापक प्रमुख नरहरि भट्टराईले सामुदायिक क्याम्पसको संरक्षणमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताएका थिए । उनले आफ्नो जीवन शिक्षण पेसामै बिताएको अनुभव पनि सुनाएका थिए । क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले क्याम्पसका गतिविधि, आर्थिक विवरण र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार र आर्थिक कोष वृद्धि गरेको बताएका थिए । अधिवेशनमा क्याम्पसका सभा सदस्य शोभामोहन पौडेल, विन्ध्यवासिनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद सापकोटा र सञ्चालक समिति सदस्य मोहन सुनारले शुभकामना मन्तव्य राखेका थिए ।
दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य दुर्गा केसी थापाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्याम्पसका लेखापाल भीमबहादुर गायकले गरेका थिए ।














