Play

कांग्रेस नेता सिटौला र बस्नेतद्वाता सर्वोच्च अदालत र निर्बाचन आयोगमाथि गम्भीर आरोप

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको देउवा समुहका नेताहरुले पार्टीको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग र अदालतको निर्णयको कडा शब्दमा बिरोध गर्दै संबैधानिक अंगहरु समेत आर्थिक चलखेलमा फँसेको आरोप लगाएका छन । पोखरामा आयोजित गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेताहरुले संवैधानिक निकाय र अदालतले कानुन तथा नजिरविपरीत काम गरेको बताएका हुन्।

समारोहमा बोल्ने क्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सडकमा भेला भएर महाधिवेशन सम्पन्न भयो भन्दै पुगेकै भरमा निर्वाचन आयोगले तुरुन्तै मान्यता दिएको आरोप लगाए । ‘यो कस्तो भयो भने सर्वोच्च अदालतका न्यायाधीशहरूले गर्ने फैसला ढिलो गरे भनेर स्रेस्तेदार अथवा रजिस्ट्रारले फैसला गरेजस्तो भयो’, उनले भने । अदालतले डोर खटाएर सर्जमिन गरी प्रमाण जुटाउनुपर्नेमा गाउँका मानिस भेला पारेर कागज लगेकै आधारमा फैसला गरेजस्तो व्यवहार आयोगबाट भएको उनको तर्क छ ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन आह्वान गर्नै नसकिने सिटौलाले स्पष्ट पारे । विधानको गलत व्याख्या गरेर आयोगले इतिहासमै अक्षम्य गल्ती गरेको उनको आरोप छ । ‘संविधान र कानुनको, पार्टीको विधानको यति गलत व्याख्या तपाईंले जसरी गर्नुभयो, इतिहासले कहिल्यै पनि तपाईंलाई छोड्दैन र हामीले पनि छोड्दैनौँ’, निर्वाचन आयोगप्रति लक्षित गर्दै उनले भने ।

सिटौलाले निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यशैलीमाथि पनि प्रश्न उठाए । हतारिएर लगातार सुनुवाइ गरी फटाफट फैसला सुनाइएको भन्दै उनले अचम्म व्यक्त गरे । ‘तपाईं न्यायाधीशहरूले गर्ने फैसला तपाईंले ढिलो गर्नुभयो अथवा गर्न चाहनुभएन भने तपाईंको रजिस्ट्रारले फैसला गर्ने अधिकार पाउँछ कि पाउँदैन, सोच्नुस् एकपटक छातीमा हात राखेर’, उनले भने ।

सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त मुद्दामा पुनरावलोकनको निस्सा दिइसकेको सिटौलाले जानकारी दिए । आयोगको निर्णय बदर नगरी सदर गर्नु कानुन र नजिरविपरीत भएकाले सुरुदेखि नै सुनुवाइ हुने अदालतले जनाएको उनले बताए । ‘अब हुने सर्वोच्च अदालतले हामीलाई, नेपाली कांग्रेस पार्टीलाई, यहाँ व्यक्ति विशेषको कुरा छैन, शेरबहादुर देउवाको रिट निवेदन हो, देउवाको मात्र होइन तमाम देशभरका कांग्रेसको भावना त्यहाँ अभिव्यक्त छ’, उनले भने।

पार्टी फुटाउने षड्यन्त्रमा संवैधानिक निकाय र संगठनहरू फसेको सिटौलाको दाबी छ । ‘हामीलाई टुटाउने षड्यन्त्रमा यहाँका संगठनहरू, यहाँका संवैधानिक निकायहरू फसेका छन्, अत्यन्त ठूलो ग्रान्ड डिजाइन, अत्यन्त ठूलो षड्यन्त्रबाट नेपालको डेमोक्रेसी, डेमोक्रेटिक सिस्टम, नेपाली कांग्रेस पार्टीलाई कमजोर गर्ने षड्यन्त्र भयो’, उनले भने ।

विशेष महाधिवेशनका नाममा अराजक ढंगले पार्टी कब्जा गर्ने काम भएको सिटौलाले बताए । त्यसले पार्टीको एकता तोडेको र बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिको जग भत्काएको उनको भनाइ छ । विशेष महाधिवेशनको विरोध गर्ने तर पछि त्यहीँबाट बनेको अधिवेशनमा सहभागी हुने नेताहरूलाई उनले छातीमा हात राखेर सोच्न आग्रह गरे ।

यसैगरी नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य एबम राष्ट्रिय सभाका सदस्य जीतजंग बस्नेतले पनि संवैधानिक अंगहरू आर्थिक चलखेलमा फसेको आरोप लगाएका छन ।  ‘निर्वाचन आयोग बिकाउ भयो, संवैधानिक अंग एउटा बिकाउ भयो’, उनले भने । चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि उनका भाइ शगुन र निर्वाचन आयुक्तमार्फत भएका आर्थिक चलखेल बाहिरिएको उनले उल्लेख गरे ।

नेपाली कांग्रेस बेच्न सर्वोच्च अदालतका केही न्यायाधीश पनि पैसाको चलखेलमा लागेको बस्नेतले दाबी गरे । न्यायाधीश सारंगा सुवेदीमाथि ३ करोड रुपैयाँ लिएको दाग लागेको भन्दै उनले त्यसमा छानबिन र कारबाही हुनुपर्ने माग गरे । ‘१८ करोडदेखि ५० करोडका कुराहरू सरकारले छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग र दाबी हो’, उनले भने ।

बस्नेतले पार्टी सभापति गगन थापाको ‘मेरो हात सफा छ’ भन्ने भनाइप्रति कडा व्यंग्य गर्दै नेविसंघमा सँगै काम गर्दा र थापा स्वास्थ्यमन्त्री हुँदाका गतिविधि आफूले नजिकबाट देखेको उनले बताए । ‘तपाईंको हातबाट, तपाईंका औँलाबाट हिजो देखेका दुर्गन्धहरू, त्यो दुर्गन्धका बासनाहरू आज पनि आइरहेका छन्’, उनले भने ।

इमान सापकोटाको भिडियो र मोबाइल प्रकरणले थापाको वास्तविकता प्रमाणित गरिसकेको बस्नेतले दाबी गरे । अर्कालाई इमानदार बन्न उपदेश दिने तर आफ्नो आँगन र हात नहेर्ने प्रवृत्ति देखिएको उनको आरोप छ । इमान श्रेष्ठका कारण उमेश श्रेष्ठ भाग्नुपरेको र उनका भाइ समातिएको सन्दर्भ जोड्दै उनले १८ करोडदेखि ५० करोड रुपैयाँसम्मको आर्थिक चलखेल भएको बताए ।

भदौ २३ र २४ गते जेनजीहरूले उन्नति, प्रगति र भ्रष्टाचार अन्त्यका लागि आन्दोलन गरे पनि पछि आन्दोलन हाइज्याक भएको बस्नेतले बताए । आन्दोलनका नाममा आतंककारी गतिविधि बढ्दा सिंहदरबार, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान, नेताका घर र प्रहरी स्टेसन जलाइएको उनले उल्लेख गरे । ‘दुर्भाग्य हाम्रो, पुलिसहरू मारिए, ती नेपालीका छोरा थिए कि थिएनन्’, उनले प्रश्न गरे ।

७ मंसिर २०८३, सोमबार ०९:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा