पोखरा, पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता यहि मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ । एमेच्योर गल्फ प्रतियोगिताको रुपमा हुन लागेको यो प्रतियोगिता पोखराको पर्यटन प्रबर्द्दनमा सघाउ पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिंदै हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रालिका प्रबन्धक भुवन गुरुङले प्रतियोगितामा स्वदेश तथा विदेशका गरी करिब ७० जना महिला तथा पुरुष गल्फर सहभागी हुने बताए । जसमा अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएन) गल्फर आउनेछन् । यस्तै पोखरा, काठमाडौँ, धरान र बुटवलका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने उनले बताए ।
प्रतियोगिता शनिबार र आइतबार गरी दुई दिन चल्ने र त्यसअघि शुक्रबार खेलाडीले कोर्स वार्मअप गर्नेछन् । पार ७० को कोर्समा गल्फरले दुई दिनमा ३६ होल खेल्नेछन् । दुवै दिनको अंक जोडेर विजेता छानिनेछ । नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीको सहप्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघले सहयोग गरेका छन् ।
क्लबका अध्यक्ष नारायण गुरुङका अनुसार प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेतालाई नगद र ट्रफी दिइनेछ । ग्रस विजेताले २० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् । डिभिजन ’ए’ (१–९ ह्यान्डिक्याप), डिभिजन ’बी’ (१०–१४ ह्यान्डिक्याप) र डिभिजन ’सी’ (१४–१८ ह्यान्डिक्याप) का विजेताले जनही २० हजार रुपैयाँ नगद र ट्रफी जित्नेछन् । ती तीनवटै डिभिजनका उपविजेताले जनही १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन् ।
यसैगरी महिलातर्फको विजेताले १५ हजार रुपैयाँ नगद र ट्रफी तथा उपविजेताले १० हजार रुपैयाँ नगद र ट्रफी पाउने अध्यक्ष गुरुङले बताए । सिनियर (६० वर्षभन्दा माथि) विधाको विजेताले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका विशेष विधामा लङ्गेस्ट ड्राइभ, ६० वर्षमाथिको लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन, १८औँ नम्बर होलको सेकेन्ड सटमा क्लोजेस्ट टु दि पिन र १८औँ होलको लङपट समावेश छन्।
यी विधाका विजेताले जनही ५ हजार रुपैयाँ नगद र ट्रफी पाउने अध्यक्ष गुरुङले जानकारी दिए । होल इन वान (होल नम्बर ४, दूरी १४५ यार्ड) का विजेताले काल्र्सबर्गबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने गल्फ खेलाडी बालकाशी गुरुङले बताइन् ।














