पोखरा, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार पोखरा आउने भएका छन । नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन अन्तर्गत शुक्रबार हुने बाग्लुंग जिल्लाको अधिबेशन र शनिबार हुने गण्डकी प्रदेशको दोश्रो अधिबेशनको उद्घाटन गर्न कांग्रेस सभापति देउवा पोखरा आउन लागेका हुन ।
नेपाली काँग्रेस कास्कीका सभापति ऋषिराम काफ्लेका अनुसार पुर्व प्रधानमन्त्री देउवा शुक्रबार बिहान साढे नौ बजे पोखरा बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। देउवाको स्वागतका लागि कांग्रेसका नेता एबम कार्यकर्ताहरुलाई बिमानस्थलमा पुग्न समेत आग्रह गरिएको उनले बताए ।
देउवा पोखरा विमानस्थलबाट पोखराको बिरौटा स्थित पोखरा ग्रान्ड होटलमा पुगेर केहि समय बस्ने र त्यसपछि हेलिकप्टरबाट बाग्लुंग जाने कार्यक्रम रहेको छ । बाग्लुंग जिल्लाको अधिबेशन सकेर देउवा शुक्रबार साँझ नै पोखरा फर्किने र शनिबार पोखराको सभागृहमा आयोजित पार्टीको दोश्रो अधिबेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश अधिबेशनका लागि गठित प्रचार समितिका संयोजक गंगाधर पराजुलीका अनुसार शनिबार बिहान पोखराको सभागृहमा गण्डकी प्रदेशको दोश्रो अधिबेशनको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा कांग्रेस सभापति देउवा सहित १५ औं केन्द्रीय महाधिबेशन तयारी समितिका संयोजक एबम पार्टीका पुर्व महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, उमाकान्त चौधरी, डा. प्रकाशशरण महत, शंकर भण्डारी, मोहन बहादुर बस्नेत, किरण पौडेल, जितजंग बस्नेत, गुरु बराल, सिता पाण्डे लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्बघाटन समारोह पुर्व पोखराको बिपीचोकबाट र्याली शुरु गरि पोखरा सभागृहमा पुगेर सभामा परिणत गर्ने कार्यक्रम रहेको बुझिएको छ । प्रदेश अधिवेशनका लागि विश्व प्रसाईं संयोजक रहेको आर्थिक समिति, राजेन्द्र घिमिरे संयोजक रहेको स्वागत समिति, प्रेमलाल पुन संयोजक रहेको स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
यसैगरी तरुण सुबेदी संयोजक रहेको भोजन ब्यबस्थापन समिति र कुमार राना संयोजक रहेको मंच एब सांस्कृतिक समिति गठन गरिएको अधिबेशन तयारी समितिका संयोजक मेखलाल श्रेष्ठले जानकारी दिए ।
प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ६ सय भनिएपनि अधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या भने १ हजारको हाराहारीमा रहने अनुमान गरिएको बताइन्छ ।














