पोखरा, आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर छली भइरहेको जानकारी हुँदाहुँदै पनि निजी क्षेत्रलाई हतोत्साही नगरौँ भन्ने सोचका साथ कर प्रशासनले काम गरिरहेको बताएका छन् । उनले कर प्रशासन निजी क्षेत्र मैत्री नै रहेको बताउंदै व्यवसायीले तिर्ने कर र उनीहरूको व्यवसाय सञ्चालन खर्च बीचको असन्तुलनतर्फ ध्यानाकर्षण गराए ।
‘महेन्द्रपुल, न्यूरोडमा कति हजार मासिक घरभाडामा सटर लिनुभा’छ, कति एडभान्स दिनुभा’छ भन्ने हामीलाई थाहा छैन र ?’ उनले भने, ‘महिनाको १ लाख भाडा तिरेर व्यवसाय गर्ने अनि वर्षको ७ हजार ५ सय कर तिरेर राज्यलाई हामीले यत्रो कर तिरेका छौँ भन्ने कुरा उति सुहाउँदैन ।’
पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय पोखरासँगको सहकार्यमा आइतबार राष्ट्रिय कर दिवस २०८३ अन्तर्गत आयोजना गरेको करदाता शिक्षा तथा सचेतना कार्यक्रममा ढुंगानाले यस्तो बताएका हुन् । उनले कर छलीमा हुने कारबाही तथा दण्ड–जरिवानाको दर सोचेभन्दा बढी रहेको दृष्टान्त प्रस्तुत गर्दै त्यस्तो काम नगर्न व्यवसायीलाई सुझाव दिए ।
आर्थिक ऐन २०८३ ले करदातालाई राहत दिन मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, पुराना बक्यौता र भन्सारमा विभिन्न छुटको व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसको सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले संघ वैज्ञानिक कर प्रणालीको पक्षमा रहँदै आएको बताइन् । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत स्वागत थापाले आर्थिक ऐनमा व्यवस्था गरिएका कर छुटका प्रावधानबारे जानकारी दिए । उनले अहिले दिइएको छुट इतिहासकै सबैभन्दा बढी भएको बताए
थापाले मूल्य अभिवृद्धि करतर्फको जरिवाना र ब्याज मिनाहा, कर विवरण पेश गरेका तर भुक्तानी नगरेकाहरूका लागि दिइएको छुट, आयकरमा छुट तथा विचाराधीन मुद्दा फिर्ता लिँदा पाइने सहुलियतबारे जानकारी गराए । करको थप दायित्वबाट बच्न यी सहुलियत लाभदायक हुने उनको भनाइ थियो ।
अन्तरक्रियामा सहभागी व्यवसायी सीता गुरुङले कर जहाँ तिर्ने हो, चुक्ताको प्रमाणपत्र पनि त्यहीँबाट पाउनुपर्ने धारणा राखिन् । इन्जिनियर विशेष थापाले भन्सारबाट हुने चोरी निकासीमा कडाइ गर्न माग गरे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भानुभक्त अधिकारीले कर भुक्तानी बढी वा कम हुँदा भएको त्रुटि सच्याउन पाउनुपर्ने बताए । कार्यक्रमको सञ्चालन संघका महासचिव सुदीप प्रधानांगले गरेका थिए । संघका कार्यसमिति सदस्य केशव ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।














