पोखरा । कास्की ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । ‘प्रदेशभित्र आउने रेमिट्यान्स अहिले पनि दैनिक उपभोग्य बस्तु र सेवा खरिदमा खर्च भैरहेको छ । घरायसी खर्चमा रेमिट्यान्स सकिएको छ,’ उनले भने, ‘रेमिट्यान्सलाई लगानीमा जोड्न विशेष पहल गर्ने छु ।
प्रदेशको अर्थतन्त्रमा विप्रेषणको अंश घटाउदै लाने र प्राप्त विप्रेषणको बचत परिचालन गरी उत्पादन क्षेत्रमा लगानी गर्ने योजना छ ।’ उनले उत्पादनमुखि, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सरकारलाई घचघच्याउने बताए । ‘स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, विद्युत, सन्चार र यातायात जस्ता सेवाहरुमा सबै व्यक्तिको सहज पहुँच पुर्याउनुपर्छ,’ बरालले अघि भने, ‘अहिले सहरी क्षेत्रमा आयातमा निर्भर नाफामुखि र ग्रामिण क्षेत्र निर्वाहमुखि अर्थतन्त्रमा छन् ।
गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ । अहिले पनि वर्षेनी १ खर्व ७ अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने गरेको तथ्यांक छ । उनीहरुको रोजगारी अहिले पनि सरकारको समस्या हो । अधिकांश बेरोजगारहरु विदेश पुग्छन् ।
सरकारले नयाँ श्रम शक्तिको सम्बोधन गर्न सकेको छैन । हरेक निर्वाचनमा रोजगारी सिर्जना गर्ने नारा लिएर चुनाव जित्नेहरु चुनावपछि रोजगारीका क्षेत्रमा वास्तै गर्दैनन् । कतिपय उम्मेद्वारका चुनावी घोषणापत्रमा नयाँ श्रमशक्ति बारे स्पष्ट उल्लेख पनि छैन ।
बैंक तथा वित्तिय संस्थाको लगानी कमजोर छ, उत्पादन क्षेत्रमा लगानी गर्न सकेका छैनन् । यसलाई मिलाउन चुनौति छ, तर मिलाउनुपर्छ ।’ श्रम बजारको माग अनुसार श्रमशक्ति उत्पादन नभएकोले धेरै बेरोजगार रहनुपरेको भन्दै बरालले सीप भएको जनशक्तिको अभाव र साधारण शिक्षा आर्जन गरेको जनशक्ति बेरोजगार बनेका बताए । ‘उनीहरुलाई बजारको माग अनुसार श्रमशक्तिको उत्पादन गर्ने र हरेक तहमा रोजगार सिर्जना गर्न चुनौति छ ।
यहाँको पर्यटन पनि स्थानीय उत्पादनसँग सम्बन्ध छैन । पर्यटनलाई उत्पादनसँग जोड्न सके धेरैले गाउँघरमै रोजगारी पाउँछन्,’ उनी भन्छन्, ‘प्राविधिक सीप, ज्ञान भएको जनशक्ती विकास गरेर नयाँ प्रविधिको अन्वेषण गरी उत्पादन प्रकृयामा जोड्नुपर्छ । प्रभावकारी रुपमा उच्च उत्पादन प्राप्त गर्न सघाउने छु ।’ प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या ५७ प्रतिशत मात्रै छ । यो संख्या वर्षेनी घट्दै गएको छ ।
१५ देखि ५९ वर्ष उमेर समूहको उक्त जनसंख्यालाई विषेश योजनाका साथ विदेश जान वा पलायन हुनबाट रोक्दै उत्पादनमुलक क्षेत्रमा योजनाबद्ध रुपमा परिचालन गर्न सके मात्रै आर्थिक सामाजिक विकासमा फड्को मार्न सकिने बरालले बताए ।