काठमाडौँ, नेपालमा राजनीतिक परिवर्तन संगै बैदेशिक रोजगारमा जानेहरुको संख्या घट्ने अनुमान कतिपयले गरेको भएपनि बैदेशिक रोजगारमा जानेहरुको संख्या गत बर्षको हाराहारीमा नै रहने देखिएको छ जेनजी बिद्रोहपछि मुलुकमा युवाहरुको नेतृत्वमा नयाँ सरकार बनेको र उनीहरुले बैदेशिक रोजगारीमा जानेहरुको संख्या घटाएर स्वदेशमै रोजगारी सृजना गर्ने नारा र आश्वासन दिने गरेको भएपनि बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमि आउने देखिएको छैन
गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा चालु आर्थिक बर्ष २०८२/०८३ को ११ महिनाको अबधिमा ७ लाख २२ हजार ८ सय ४१ जना वैदेशिक रोजगारीका लागि बाहिरिएको तथ्यांक बैदेशिक रोजागार बिभागसंग छ। विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको मुख्य स्रोत रहेको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखिन्छ ।
गत वैशाख महिनामा मात्र ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए, तर वैशाख महिनाको भन्दा जेठमा भने कम नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम देखिएको छ । जेठ महिनामा ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिलाले श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष सकिन अझै केहि समय बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । जेठ महिनामा नेपाली श्रमिकहरूको पहिलो रोजाइ मलेसिया बनेको छ । मलेसियाका लागि कुल १४ हजार १ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ, जहाँ १२ हजार ४ सय ५५ जना नेपाली जाने तयारीमा छन् ।
त्यस्तै, कतारमा १० हजार २ सय १० जना साउदी अरबमा ७ हजार ५ सय १९ जना र रोमानियामा २ हजार ५ सय १५ जना वैदेशिक रोजगारीका लागि गएका छन् । पछिल्लो समय युरोपेली मुलुक रोमानियामा नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको छ । यस्तै जापानका लागि १ हजार ७ सय ५९ र कुवेतका लागि १ हजार ९ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।
पछिल्लो समय मलेसिया र खाडी मुलुकमा मात्र केन्द्रित नभई श्रमिकहरू रोमानिया, जापान र साइप्रस जस्ता नयाँ गन्तव्यतर्फ पनि आकर्षित हुन थालेका छन् । सरकारले दक्ष जनशक्ति पठाउन जोड दिएपनि अझै ठुलो हिस्सा अदक्ष कामदारका रूपमा विदेशिनुले स्वदेशमै सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
श्रम स्वीकृति लिनेहरूको सीपको आधारमा विश्लेषण गर्दा दक्ष कामदारको संख्या सबैभन्दा बढी छ । कुल स्वीकृतमध्ये ३७ हजार ३ सय ९१ जना दक्ष श्रेणीका कामदार रहेका छन् । यसले वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा क्रमशः सीप सिक्ने क्रम बढेको देखाएको छ । यसैगरी १४ हजार ९ सय ९४ जना अझै पनि अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा गइरहेका छन् । जसमा दक्ष जनशक्तिमा ३७ हजार ३ सय ९१ जना, अर्ध–दक्ष ८ हजार ३ सय २८ जना, व्यवसायिक २ सय ९६ जना र उच्च दक्ष ६३ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ६८ हजार १ सय १० वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ६७ हजार ९ सय ७२, असोजमा ६४ हजार ६ सय ३४ र कात्तिकमा ७३ हजार ९४ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार मंसिरमा ६५ हजार ७ सय ५ र पुसमा ६२ हजार ५ सय ५९, माघमा ७० हजार ५ सय ३ जना, फागुनमा ५२ हजार ९ सय ४४, चैतमा ६१ हजार ८ सय १९, वैशाखमा ७४ हजार ४ सय २९ जना र जेठमा ६१ हजार ७२ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।
















