पोखरा, कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा श्री शहिद स्मृति आवासीय स्कुल तेक्वान्दो च्याम्पियन बनेको छ ।
प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एब्सोलुट तेक्वान्दो डोजाङ दोस्रो तथा हिमालयन टाइगर तेक्वान्दो डोजाङ तेस्रो भएको छन ।
दोस्रो स्थान हासिल गरेको एब्सोलुट तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो भने तेस्रो बनेको हिमालयन टाइगर तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य पदक आफ्नो नाममा गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताबाट उत्कृष्ट फाइटरतर्फ महिला ३५ केजीमुनि समूहमा श्री सहिद स्मृति आवासीय तेक्वान्दो स्कुलकी निशा बि.क उत्कृष्ट घोषित भइन्। त्यसैगरी पुरुष ४८ केजीमुनि समूहमा हिमालयन टाइगर तेक्वान्दो डोजाङका साहस बुढा मगर उत्कृष्ट प्रतियोगी चुनिए ।
जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरूङले जिल्लामा तेक्वान्दो खेलको विकास तथा नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न ४२ डोजाङ तथा विद्यालयका ४ सय २६ खेलाडीहरूको सहभागिता रहेको थियो ।
- तस्बिर – राधिका कंडेल / पोखरा
















