विराटनगर, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएको छ । बुधबार सुन्दर हरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर झडप हुँदा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरू नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् ।
झडपका क्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको बताइएको छ । अधिवेशन अन्तर्गत बुधबार मनोनयन गर्ने कार्यसूची थियो । तर, उद्घाटन नै नहुँदै अधिबेशनस्थलमा तोडफोड र कुटपिट भएपछि अधिवेशन अन्योलमा परेको छ । यसअघि क्रियाशील सदस्य विवादमा वडा अधिवेशन समयमा नै भएको थिएन ।
मोरङ–६ डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस महाधिवेशनबाट अलग छन् । तर, अधिवेशनमा बिथोल्न कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षको दाबी छ । क्षेत्रीय सभापतिको जिम्मेवारीमा कोइरालानिकट नेता देवराज तामाङ थिए, उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेपछि अधिवेशन गर्ने गरेको जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो ।
बुधबार अधिवेशनस्थलमा तामाङ पनि खटिएका थिए । अधिवेशन सुरु हुनुअघि नै असन्तुष्टले तोडफोड गरेको उनले बताए । तोडफोड गर्ने आफू निकट रहेको भन्ने दाबी गलत रहेको उनको भनाई छ । ‘यहाँ क्रियाशील सदस्यता विवाद थियोे, त्यहीँ कारणले असन्तुष्ट रहेका वडाका प्रतिनिधिले विवाद गरेको र झडप हुन पुगेको हो ।’
वडास्तरमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उठेको विवादका कारण अधिवेशन स्थलमा तनाव बढेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विवाद उग्र बनेपछि नेता तथा कार्यकर्ताहरूबीच हातपात र तोडफोड भएको थियो ।













