पोखरा, नेवा: खल कास्कीले हरेक बर्ष गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव यस बर्ष भदौ २० गते शनिबार हुने भएको छ । नेवाःखल कास्कीको आह्वानमा लामाचौर नेवाः खल गुठीले २७ औं शृंखलाको गाइजात्रा महोत्सब पोखरा–१६ को लामाचौरचोकमा गर्ने जानकारी विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।
नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने चलन छ। जसमा बाजासहित गरिने नाचलाई तायाःमचा भनिन्छ । यस वर्ष भदौ १३ गते गाईजात्रा परेको भएपनि गाईजात्राको दिन बजार परिक्रमा गर्दा अबेर हुने भएकाले सबैको सहजताका लागि त्यसपछिको पहिलो शनिबार यस किसिमको प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा खुलातर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तेस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । महिलातर्फको विजेताले ४० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ, तेस्रोले २५ हजार रुपैयाँ र सान्त्वनाले २० हजार रुपैयाँ पाउनेछन् । सहभागी प्रत्येक टिमलाई प्रोत्साहन स्वरूप १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार तायाःमचा संस्कृतिलाई जोगाउन र यसको प्रवर्द्धन गर्न हरेक वर्ष गाइजात्राको दिन पछिको पहिलो शनिबार प्रतियोगिता गरिंदै आएको छ। पोखराका विभिन्न स्थानमा प्रतियोगिता हुँदै आएको भएपनि लामाचौरमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
यसअघि भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार र लेखनाथमा यस किसिमको कार्यक्रम भइसकेको पालिखेले जानकारी दिए। कास्कीमा नेवाःखलका ४८ वटा शाखा रहे पनि पातलो बस्ती र बसाइँसराइका कारण ८ ठाउँमा तायाःमचा नाच निकाल्न नसकिएको उनले बताए ।

प्रतियोगिताका मूल आयोजक समिति संयोजक सुशीलकुमार श्रेष्ठले पहिलो पटक लामाचौरमा कार्यक्रम गर्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गरे । उनले यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति आकर्षित गर्ने र सीप हस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे । ‘यो हाम्रो संस्कृति हो, यसको संरक्षण र संवर्धन गर्दै नयाँ पुस्तालाई तायाःमचा संस्कृति हस्तान्तरण गर्ने हाम्रो उद्धेश्य हो’ उनले भने ।
लामाचौर नेवाः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठका अनुसार यस वर्ष प्रतियोगितामा ३८ वटा टिम सहभागी हुने अनुमान गरिएकोमा १२ वटा टिम महिलाका हुने सम्भावना छ । बाटुलेचौर र छोरेपाटनले यसपटक पहिलो पटक सहभागिता जनाउँदैछन् भने आयोजक भएकाले लामाचौरले अप्रतियोगीका रूपमा मात्र प्रस्तुति दिनेछ ।
पुरस्कारका लागि आवश्यक १० लाख रुपैयाँ पोखरा–३ तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले सहयोग गर्ने भएका छन् । उनीहरूले आफ्ना स्वर्गीय मातापिता हेमप्रसाद श्रेष्ठ र बालकुमारी श्रेष्ठको स्मृतिमा सो रकम उपलब्ध गराउन लागेका हुन् । अन्य खर्च भने विभिन्न प्रायोजक र सहयोगीबाट संकलन गरिने संयोजक सुशिलकुमार श्रेष्ठले बताए ।















