पोखरा, मुक्तिनाथ विकास बैंक र नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको बिचमा टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार टाटाका व्यावसायिक गाडी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका तर्फबाट उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरहरु मार्फत टाटा ब्राण्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकलाई बैंकले कर्जा दिनेछ ।
ग्राहकहरुले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा यो कर्जा सुविधा पाउनेछन् । बैंकले विद्युतीय सवारी साधन (इभी) तर्फ मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । त्यसैगरी इन्धनबाट चल्ने (आइसिई) सवारी साधनका लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा सुविधा पाइनेछ ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच पुग्ने बैंकले जनाएको छ । यसैबिच मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जा, कृषि कर्जा र साना तथा मझौला उद्यम (एसएमई) कर्जामा समेत विशेष अफर ल्याएको छ ।















