काठमाडौँ, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ स्थित भकुण्डे प्रहरी चौकीका इन्चार्ज तथा सई ( प्रहरी नायब निरीक्षक) गणेशप्रसाद श्रेष्ठ होटेलबाट मध्यरातमा युवतीसहित रंगेहात पक्राउ परेका छन्।
उनलाई होटलको कोठामा एक युवतीसंग बसेको बेला सोमबार बिहाना ३ बजे स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको भिडिओ सामाजिक संजालमा भाइरल भएको छ। उनी स्थानीय नमोबुद्ध होटलमा महिलासँग बसेको अवस्थामा भेटिएका थिए ।
होटलमा घेरा हालेर स्थानीयले नियन्त्रणमा लिएपछि भकुण्डे चौकीका प्रहरी पनि घटनास्थलमा पुगेका थिए । त्यसपछि उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको काभ्रेका एसपी रविन कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘आज बिहान ३ बजेतिर स्थानीय होटलमा पुगेका रहेछन्, हामीले सई श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे अनुसन्धान गरिरहेका छौँ ।’
जिम्मेवारी र मर्यादाविपरीत कानुनविपरीतको कार्य गरेको भन्दै स्थानीय बासिन्दाले उनलाई मध्यरातमा नमोबुद्ध होटेलबाट नियन्त्रणमा लिएका हुन् । स्थानीयले नै नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको जिम्मा लगाएका थिए ।
पक्राउ परेका सई श्रेष्ठ केही महिनाअघि मात्र, अर्थात् गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका थिए । तर, जिम्मेवार पदमा रहेका प्रहरी अधिकारी नै यसरी अनपेक्षित गतिविधिमा संलग्न भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले सई श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला ल्याएको थियो।















