पोखरा, पोखराको गण्डकी मेडिकल कलेज जीएमसीमा अध्ययनरत एमबीबीएस इन्टर्नसिपका प्रशिक्षार्थी चिकित्सकहरू र कलेजको व्यवस्थापन पक्षको बिचमा इन्टर्न चिकित्सकहरुले उठाएका केहि मागका सम्बन्धमा सहमति जुटेको छ ।
इन्टर्नसिपका प्रशिक्षार्थी चिकित्सकहरूले उठाएका विभिन्न मागहरूका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत चिकित्सकका प्रतिनिधिहरूबीच भएको समन्वय बैठकमा दुईबुँदे निर्णय सहितको सहमति जुटेको हो ।
दुई पक्षबिचको सहमतीमा अस्पताल ब्यबस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एबम प्रिन्सिपल डा. रबिन्द्र प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घले, प्रशासन प्रमुख कृष्णराज घिमिरे एबम आन्दोलनरत इन्टर्न चिकित्सकको प्रतिनिधिले हस्ताक्षर गगरेको अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।
हाल उक्त अस्पतालमा करिब ७५ जना इन्टर्न चिकित्सकहरु कार्यरत छन । उनीहरुले केहि दिन अगाडी मासिक निर्बाह भत्ताको बिषयलाई लिएर आन्दोलन स्वरूप धर्ना र प्रदर्शन समेत गरेका थिए ।
सहमतिअनुसार इन्टर्न डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने भएको छ ।
यस्तै, अन्य थप विषयहरूमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय एवम् अन्य नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशनअनुसार अघि बढ्ने निर्णय भएको अस्पतालका प्रशाशन प्रमुख कृष्ण पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।
















