पोखरा, पोखराको सहारा फुटबल एकेडेमीको सहयोगार्थ शनिबार आयोजित च्यारिटी हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । सहारा क्लब पोखराले ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ नाममा उक्त कार्यक्रम गरेको हो । सूर्यबहादुर केसी मेमोरियल स्मृति सहारा एकेडेमीमा रहेका १६ जिल्लाका ३० जना बालकको लागि फुटबल प्रशिक्षण र उच्चशिक्षामा हुने खर्च तथा एकेडमीको लागि आबश्यक आर्थिक श्रोत जुटाउन उक्त कार्यक्रम गरिएको बुझिएको छ।
एकेडेमीमा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल र शिक्षा दिइन्छ । क्लबले चर्चित आहा ! रारा पोखरा गोल्डकप पनि आयोजना गर्दै आएको छ । स्वास्थ्य र प्रकृतिको प्रबर्द्दन गर्दै सामाजिक सेवामा नागरिकलाई जोड्न हाइकिङ कार्यक्रमले सकारात्मक वातावरण बनाएको आयोजकले बताएका छन् ।
पोखराको महेन्द्रपुलबाट शुरु भएको उक्त कार्यक्रमका सहभागीहरु रानीपौवा र चापापानीचोक हुँदै पर्यटकीय क्षेत्र काहुँडाँडामा पुगेका थिए। हाइकिङमा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ । काहुँडाँडामा आयोजित समापन कार्यक्रममा बोल्दै पोखरा -९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहारा क्लबको सामाजिक सेवामा सहकार्य गर्न पाउँदा खुसी लागेको र कठिन परिस्थिति र विपन्न परिवारका बालकलाई सहयोग गर्न कार्यक्रम गरिएको बताए।
सहारा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठले एकेडेमी सञ्चालनमा रहेका चुनौतीबारे जानकारी दिंदै क्लबको आफ्नो पुरानो कार्यालय नभएकाले एकेडेमीबाटै काम भइरहेको बताए । हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको र सहभागीलाई सो रकममा टिसर्ट, खाजा र खाना उपलब्ध गराइएको थियो।
कार्यक्रमका संयोजक पूर्णबहादुर गुरुङले हाईकिंगमा सहभागी सबैलाई धन्यवाद दिएको उक्त कार्यक्रम सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव गंगाराज पौडेलले गरे । सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवा र फुटबल विकासमा काम गर्दै आएको छ ।















