पोखरा, पर्यटकीय राजधानी पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले सुविधा सम्पन्न लक्जरियस बस सेवा सञ्चालनमा ल्याएको छ । करिब तिन दशक देखि शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.को नामबाट सेवा संचालन गरिरहेको उक्त कम्पनीले भदौ ३ गते बुधबारदेखि पोखरा – काठमाडौँ रुटमा संचालन गर्न लागेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (हरि) सिटौलाले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा नयाँ र सुविधासम्पन्न उक्त बस सेवाको शुभारम्भ गरेका थिए । त्यस अबसरमा बोल्दै महासङ्घका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौँका लागि सुरु भएको यो सेवा नेपालकै मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे ।

उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवातको रुपमा चित्रण गरे। एउटा बसको लागि करिब २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए ।
अब यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासङ्घले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको उनले बताए। अध्यक्ष सिटौलाले भने, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ। सङ्घीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ। अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ।’

शुभ अधिकारी ट्राभल्सले पोखरा महानगरपालिकाको हेम्जा मिलनटोलबाट हरेक दिन बिहान काठमाडौँको लागि छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न रहेको दाबी गरेको छ। आगामी भदौ ३ गतेदेखि आधिकारिक रूपमा सेवा प्रारम्भ हुने कम्पनीका अध्यक्ष टिकाराम अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए । उनका अनुसार पोखराबाट काठमाडौँ जाने बस साँखुसम्म पुग्ने ब्यबस्था गरिएको छ।
अध्यक्ष अधिकारीका अनुसार नयाँ बसहरू सुबिधा सम्पन्न भएपनि भाडा भने अन्य सरह नै रहेको छ। उनले पोखरा – काठमाडौँको भाडा एक जनाको लागि १ हजार ७ सय रुपैया र स्लिपरमा जानको लागि २ हजार रुपैयाँ भाडा निर्धारण गरिएको जानकारी दिए। यात्रुको सहजताका लागि बसभित्रै शौचालय, चिया तथा कफी र ब्रेकफास्टको सुविधा उपलब्ध हुनेछ।
‘बसमा नेपालमा संचालित अन्य बसमा रहेको भन्दा सुविधासम्पन्न सिट राखिएको र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता हामीले पुरा गर्नेछौं ‘ अधिकारीले भने। ‘यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ।’ अधिकारीको भनाई छ। उनले पोखराबाट काठमाडौँ र नेपालगंजसम्म कम्पनीले ८ वटा बसको माध्यमबाट यातायात सेवा संचालन गरेको जानकारी दिए ।















