काठमाडौँ, बिभिन्न संचार संस्थाको कार्यालयमा प्रवेश गर्ने गेटमा अबरोध पुग्नेगरी संकास्पद ढंगले पार्किंग गरिएका गाडीहरु मध्ये केहि गाडी रास्वपाका कार्यकर्ताको भएको र उनीहरुले राखेको बताएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा संचार माध्यमको अगाडी राखिएको घटनाको भर्त्सना गरेको छ। पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै यसमा अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन पनि सुरक्षा संयन्त्रसँग माग गरेका छन।
महामन्त्री आचार्यले जारी गरेको बिज्ञप्तिमा ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ भनिएको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’
राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताका ठाडो उल्लंघन भएको पनि महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त बिज्ञप्तीमा कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं समेत भनिएको छ ।
















