Play

बिभिन्न संचारसंस्था र कांग्रेस सभापति थापाको गेट अगाडी संकास्पद किसिमले राखिएका गाडी कसका ?

रास्वपाका कार्यकर्ताले प्रहरीको सहयोगमा नै गाडी पार्किंग गरेको हुनसक्ने अधिकांशको बुझाई


गुरुकुल खबर


काठमाडौँ, काठमाडौँस्थित बिभिन्न सञ्चारमाध्यमको गेटमा र नेपाली काँग्रेसका सभापति गगन थापाको निवास अगाडी रहस्यमय ढंगले लामो समय पार्किङ गरिएको गाडीहरूको बारेमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेकोमा केहि गाडीको पहिचान खुलेपनि कसले किन त्यहाँ लगेर पार्किंग गरेको भन्ने विषय भने अझै खुलेको छैन। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले लामो समयको पर्खाईपछि क्रेनको सहायताले हटाएको छ ।

सोमबार बिहान सबेरै सञ्चारगृहहरुमा प्रवेश गर्ने गेट अगाडि अनधिकृत रूपले गाडी पार्क गरिएको देखिएपछि हल्लाखल्ला भएको थियो।काठमाडौँको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको गेट अगाडि झन्डै ६ बजेतिरै बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरी अलपत्र छाडिएको अवस्थामा भेटियो। गेट अगाडि अरू कुनै सवारी आवागमन गर्न नमिल्ने गरी उक्त गाडी रोकेर राखिएको थियो।

त्यसको केही बेरमा बुद्धनगरस्थित अनलाइनखबरको अफिस अगाडि पनि त्यस्तै किसिमले आवागमन रोकिने गरी गाडी पार्क गरिएको सूचना सार्वजनिक भयो। त्यहाँ बा१२च ८५४५ नम्बरको गाडी पार्क गरिएको थियो। उक्त गाडी पनि ठ्याक्कै गेट अगाडि नै राखिएको थियो। यसरी दुई मिडिया गृहको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको खुलेपछि पत्रकारहरूबीच सूचना आदानप्रदान भयो।

यसरी बुझ्ने क्रममा मध्य बानेश्वरस्थित हिमालयन टेलिभिजनको अफिस छिर्ने बाटोमा पनि त्यसरी नै गाडी रोकेर राखेको पाइयो। त्यहाँ बा १०च १२५५ नम्बरको गाडी पार्क गरिएको भेटिएको थियो। मिडिया हाउस मात्र होइन, अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडिको सडकमा पनि अनधिकृत रूपले गाडी पार्क गरेर राखिएको फेला पर्‍यो।

मिडिया हाउस, व्यापारिक केन्द्र र काठमाडौंको मुख्य बजार प्रभावित हुने गरी जथाभाबी गाडी पार्किंग गरिएको घटनाले कसले कुन प्रयोजनका लागि गाडी पार्क गरियो भन्ने प्रश्न उठेको छ। सँगसँगै, सम्बन्धित मिडिया हाउसले प्रहरीलाई खबर गर्दा पनि लामो समयसम्म ती गाडी हटाउन किन पहल भएन भन्ने प्रश्न पनि उठेको छ।

यसबारेमा यातायात व्यवस्था विभाग र प्रहरीहरूसँग कुरा गर्दा कान्तिपुर मिडिया हाउस अगाडि राखिएको बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको देखिएको छ। उक्त गाडी एसटी मोटर्सले लिएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ। कान्तिपुर मिडिया ग्रुपको मानव संशाधन विभाग प्रमुख परमानन्द खनालका अनुसार उक्त गाडी रवि जयसवाल भन्ने व्यक्तिले चलाउने गरेको पाइएको छ। उनी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य रहिसकेको खुलेको छ।

कान्तिपुरका खनालले सम्पर्क गर्दा जयसवालले आफू नगरकोटमा रहेको बताएका थिए। ‘मैले गाडी साथीलाई दिएको थिएँ।  म त नगरकोटमा छु। तपाईंहरूले ट्राफिकको जिम्मामा छाड्नू। म पनि आउँछु,’ उनको भनाइ उद्धृत गर्दै खनालले भनेका छन।

कान्तिपुरले बिहानै प्रहरीलाई खबर गरेको भए पनि उक्त गाडी हटाउन तत्काल पहल नगरिएको कान्तिपुरका पत्रकारहरू बताउँछन्। अहिले उक्त गाडी क्रेनले तानेर बग्गीखानामा लगिएको छ। कान्तिपुरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आफूहरूको सहमति बिना गाडी नछाड्न जाहेरी पनि दिएको मानव संशाधन प्रमुख खनालले बताए।

त्यस्तै, अनलाइनखबरको गेट अगाडि पार्क गरिएको बा १२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको भेटिएको छ। ‘हामीले त्यो गाडी सुनील पौडेलको नाममा दर्ता भएको रेकर्ड भेटियो,’ अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले भने, ‘उनले किन गाडी छाडे भन्ने खुलिसकेको छैन।’

अनलाइनखबरमा पनि बिहानैदेखि उक्त गाडी पार्क गरिएको थियो।  करिब ११ बजेतिर प्रहरीलाई खबर गरिएको र केही मन्त्रीलाई समेत जानकारी गराइएको अनलाइनखबरका पत्रकारहरूले बताए। प्रहरीलाई खबर गर्दा पनि तत्काल गाडी हटाउने तिर पहल नभएको उनीहरूको भनाइ छ।

खबर गरेको धेरै पछि प्रहरी आएर गाडी नम्बर सुनील पौडेलको हो भन्ने पत्ता लगाएको पत्रकारहरू बताउँछन्। अनलाइन खबरकर्मी कृष्ण ज्ञवालीका अनुसार  प्रहरीले त्यहीबाट सुनिल पौडेललाई फोन गरेको तर उनले गाडी आफ्नो भएपनि भाइलाई चलाउन दिएको जानकारी प्रहरीलाई दिए। साथै उनले प्रहरीलाई भाइको नम्बर पनि दिएको थियो।

सोहि नम्बरमा फोन गर्दा सुजन पौडेल नाम गरेको व्यक्तिले अनलाइनखबरको गेटअगाडि गाडी छाड्ने आफू नै भएको बताए। ‘मैले नै त्यहाँ गाडी छाडेको हुँ,’ उनले भने, ‘मलाई त्यहाँ पार्किङ गर्न मन लाग्यो, गरेँ। मिडियाहरूले यत्तिकै शंकास्पद गतिविधि भन्दै हामीलाई भाइरल बनाइदिने ? कसैको गेट अगाडि पार्क गरियो भने त्यो गाडी शंकास्पद हुन्छ ?’ उनले उल्टै प्रश्न गरे

त्यस्तै, हिमालयन टेलिभिजन अगाडि छाडिएको बा १०च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुमबराहीको नाममा रहेको देखिएको छ।भाटभटेनी अगाडि राखिएको गाडी भने कसको हो भन्ने खुलिसकेको छैन।

मिडिया हाउस र बजारमा अनधिकृत रूपले गाडी राखिएका घटना सार्वजनिक हुँदै जाँदा रास्वपाका निवर्तमान केन्द्रीय सदस्य मधुसुदन ढकालले फेसबुकमा लेखेको कुराले रास्वपाका कार्यकर्ताहरुले नै यसरी गाडी पार्किंग गरेको हुनसक्ने अनुमान गर्न थालिएको छ उनले  सेतोपाटीमा प्रकाशित समाचार सेयर गर्दै ‘अव्यस्थित पार्किङले गाह्रो पर्छ भन्ने सांकेतिक जानकारी दिएको हुनसक्ने’ लेखेकोले पनि रास्वापाका नेता कार्यकर्ताहरुले नै यसो गरेको अनुमान गर्न थालिएको छ।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको हुन सक्छ। अर्को कुरा, जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठ्यारो पर्छ थाहा दिएको पनि हुन सक्छ,’ ढकालले लेखेका छन्।

यो घटना बिहान सार्बजनिक भएपनि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना प्राप्त हुनासाथ सबै मिडिया हाउसमा टोली खटाएको दाबि गरे। ‘टोलीले सुरूमा ती गाडीमा विस्फोटक पदार्थ छ कि छैन भनेर जाँच गर्‍यो। शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला नपरेपछि क्रेनमार्फत् गाडीलाई बग्गीखाना पठाएका छौं।’ थप कारबाही ट्राफिक प्रहरी कार्यालयले गर्छ’ उनले भने।

यसैगरी नेपाली काँग्रेसका सभापति गगन कुमार थापाको घर अगाडी पनि यसैगरी गाडी पार्किंग गरिएको भेटिएको छ। कांग्रेस सभापति थापाको रातोपुल स्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ः३० बजेदेखि नै संकास्पद रुपमा पार्किंग गरेर राखिएको स्थानीय बासिन्दाले जानकारी दिए । मुख्य सडकबाट सभापति थापाको घर प्रवेश गर्ने सहायक मार्गमा अबरोध पुग्ने गरि गाडी पार्किंग गरिएको थियो ।

स्थानीयले दाबी गरेअनुसार कार त्यहाँ राखेर चालक प्रहरीकै गाडी चढेर हिँडेको देखिएको थियो। यस कुरालाई आधार माण्ड रास्वपाका कार्यकर्ताहरुले प्रहरीसमेतको सहयोग लिएर संचारसंस्था र कांग्रेस सभापति थापाको निवास अगाडी गाडी पार्किंग गरेको हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले यस बारेमा केहि बताएको छैन। प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले थापाको घर अगाडी रहेको गाडी पनि तानेर लैजाने प्रक्रिया शुरु भएको छ ।

२९ असार २०८३, सोमबार १७:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा