Play

सुकुम्बासीको पिडा: त्यसबेला सेना र प्रहरी लगाएर बस्ति भत्काईयो, अहिले डुबान हुँदा औषधि पनि निकाल्न पाइएन

गुरुकुल खबर


काठमाडौँ,  वाग्मती नदीमा आएको बाढीले शुक्रबार राति काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर एकैछिनमा जलमग्न बन्यो । लगातारको वर्षाले नदीमा पानीको सतह बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो। हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु ? सुकुमवासी अन्योलमा रहे । जसको पहुँच जता छ त्यतै फोन गर्न थाले ।

रातको दुई बज्नै लाग्दा एकाएक होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीले केहि संचारकर्मीको सम्पर्कमा आएरआत्तिंदै फोन गर्दै भने, ‘ सुकुम्बासीहरुको होल्डिङ सेन्टरमा नदी पसेर पानी घुँडासम्म आइसकेको छ र सबै सुकुम्बासीहरुको बिजोग भएको छ।’ ‘एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ । हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं’, माझीले भने, ‘बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन् । हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं ।’

यद्यपि, केही समयमा डुंगासहित प्रहरीको टोली त्यहाँ पुग्यो । सुकुमवासीका छटपटीबीच सुरक्षाकर्मीको संयुक्त टोलीले ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा सार्‍यो । तर, धेरैको बन्दोबस्तीका सामान, अन्नपात र लुगा कपडा बाढीमै डुबे । कतिपय आफन्त कहाँ शरण लिन पुगेका छन् भने कतिपय अहिले पनि सेन्टरकै आसपासमा ओत लागेर बसिरहेका छन् ।

बाढीले जलमग्न भएको त्यो क्षेत्र अहिले लेदो र हिलाम्मेमा परिणत भएको छ । जताततै हिलो र गन्ध फैलिएको छ । तर पनि आकाश शान्त छैन । लगातार पानी परिरहेकाले नदी फेरि उर्लेर आउने हो कि भन्ने त्रासमै सुकुमवासी छन् । तर, उपाय के नै छ र ! थापाथली, गैरीगाउँ लगायतका सुकुमवासीबाट जेनतेन जोगाएर ल्याएका सामान फेरी नष्ट भए । त्यसमै पनि केही अझै जोगाउन सकिन्छ कि भनेर उनीहरू प्रयासरत देखिन्छन् ।

हिलोमा पुरिएका, भिजेका आफ्ना सरसामानहरू खोतलेर निकाल्ने प्रयास गरिरहेका छन् । कोही भने आफ्ना सबै पुरेका सरसामान हेर्दै टोलाएर बसिरहेका छन् । होल्डिङ सेन्टर डुबेसँगै उनीहरू थप अन्योल र चिन्तामा छन् । पहिले राज्यको डोजर र अहिले प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको भन्दै कतिपय सुकुमवासी आक्रोशित पनि सुनिन्छन् । सरकारले आफूहरूमाथि अपराध गरिरहेको बताउँछन् ।

कीर्तिपुरकै होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङ गएको रात सम्झँदै भक्कानिन्छिन् । एक बजेतिर पालभित्र पानी पस्न थालेपछि अलि बेर त अन्योल र तनाव नै भयो । तर, केहीबेर पछि ‘केही भाइहरू‘ले डुङ्गा ल्याएर केही सामान बाहिर निकाल्न सकेको उनले बताइन् ।तर पनि चिउरा, चामल, बिस्कुट र लुगाफाटा सबै पानीभित्रै नष्ट भएका छन् । यतिसम्म कि, भोलिपल्ट बिहान केटाकेटीलाई खुवाउन भनेर जोगाएर राखेको अलिकति भात र तरकारी पनि सुकुलसँगै डुबेको देख्दा उनको मन पोलेको छ ।

‘पहिला हामी जहाँ बसेका थियौं, बरु ठिक थियो । तयारीबिना यसरी किन यहाँ ल्यायो । हामीलाई त मारेसरह भइसक्यो,‘ मेनुकाले भनिन्, ‘त्यहाँ बाढीबाट जोगाउन भनेर यहाँ ल्याएको होइन ? खोइ यस्तो बिजोग झेल्नुपरेको छ त ?’ प्रशासनले आफूहरूलाई साविकको बस्तीबाट हटाउँदा प्रहरी र आर्मी लगाएर जबरजस्ती उठाएको, बन्दुक र गोलीगट्ठा देखाएर भत्केको ठाउँ हेर्नसमेत नदिएको मेनुकाको अनुभव छ । डरैडरले गर्दा आफ्नो दुईचार पैसा आउँछ कि भनेर कबाडीलाई बेच्न ठिक्क पारेको सामान समेत उठाउन पाइनन् । अहिले फेरि भएका केही सामान पनि नष्ट भएर बिजोग बनाइदिएको सरकारसँग उनको आक्रोश छ ।

आफूहरू पनि यही देशको नागरिक भएको र नागरिकता, राष्ट्रिय परिचयपत्र सबै सरकारी नै भएको उल्लेख गर्दै उनी प्रश्न गर्छिन्, ‘हामीले एउटा मान्छे मार्यौँ भने सरकारी कानुन लाग्छ, तर आज हामीलाई यसरी दिनदिनै मारिरहेको छ । यो सरकारलाई के हुन्छ ?’ आफूमात्र होइन, आफूपछिको छोरा, नाति र सिंगो परिवारको बिजोग भयो भन्दै मेनुका भक्कानिन्छिन् ।

बाँचुन्जेल देश र जनताका लागि राम्रो काम गरेर इतिहासमा नाम कमाउन र गरिबलाई रुवाएर, आँसु र रगतमा डुबाएर नहिँड्न उनी सरकारलाई बिन्ती गर्छिन् । हिलाम्मे होल्डिङ सेन्टरको कुनामा टोलाएर बसेकी उनले सरकारसँग सुरक्षित स्थानमा उचित व्यवस्थापन मागेकी छन् । ‘हामीलाई जस्तो व्यवस्थापन गर्छु भनेर ल्याएको थियो, त्यो गर्नुपर्यो । केही गर्न नसक्ने भए किन त्यहाँबाट उठाएको ?,‘ मेनुकाको प्रश्न छ ।

त्यस्तै, सुकुमवासी गीता लामा पनि तनावमा छिन् । राति पानी पस्दा उनी मस्त निद्रामै थिइन् । जब बिउँझिइन्, सबै बर्बाद भइसकेको थियो । पछि पुलिसहरू आएर उद्धारमा साथ त दिए, तर सरसामान केही पनि निकाल्न पाइनन् । बाढीबाट जोगिन साविकको बस्ती भत्काएर यहाँ ल्याइएका उनी पनि अन्ततः त्यही बाढीको चपेटामा परिन् । अहिले सामान कता छ, मान्छे कताकता छन् – केही अत्तोपत्तो छैन । ओढ्ने र ओछाउने कपडा, जाँतो, चुलो र खाने भाँडाहरू सबै हिलो र पानीले नष्ट बनाइदिएको छ ।

यो प्राकृतिक विपत्तिबीच गीताको काँधमा सामान जोगाउने मात्र होइन, आफ्ना बिरामी श्रीमान् र सानो बच्चालाई सम्हाल्नुपर्ने जिम्मेवारी छ । डिप्रेसन र अन्य बिरामीको समस्यासँग जुधिरहेका उनका श्रीमान् आफ्नै सुरमा यताउता गरिरहेका छन् । तर, उनलाई खुवाउने दबाई अब छैन। पानीले बिहान औषधिको लागि भनेर राखिएको खाजा र औषधि दुवै नष्ट गरिदियो ।

अब श्रीमानको औषधि कुन थियो भन्ने ठ्याक्कै भेउ पनि उनलाई छैन । दबाइ किनेको पुर्जा पनि आफूसँग रहेन । ‘बुढा डिप्रेसनमा हुनुहुन्छ, केही गर्न सक्ने अवस्था छैन’, गीताले भनिन्, ‘यस्तो बेला बच्चा स्याहार्नु कि सामान स्याहार्नु ? ज्यान त बच्यो, तर अरू सबै थोक सखाप भयो।’श्रीमानका लागि नियमित खुवाउनुपर्ने डिप्रेसनका औषधिहरू अब हिलोबाट निकाल्नसक्ने अवस्था छैन । निकाले पनि केही काम आउँदैन । अब भोलिदेखि ती औषधि कहाँबाट ल्याउने र श्रीमानको स्वास्थ्य कसरी जोगाउने भन्ने चिन्ता उनमा थपिएको छ ।

‘गर्मी यस्तो छ, त्रिपालमुनि सहेर बस्नुको विकल्प छैन । त्यसमाथि यो खोला कुन दिन उर्लेर सबै बगाउला भन्ने डर छ । अब सरकारले यसबारे किन सोच्दैन म जान्दिनँ’, उनले भनेकी थिइन् । नभन्दै त्यस्तै भयो, अब उनीसँग आफ्नो र परिवारको ज्यानबाहेक केही सकुशल छैन । कमाएर जोड्न पनि थापाथली सुकुमवासी बस्तीबाट विस्थापित भएसँगै काम छुटेको छ । कीर्तिपुरबाट धाउन गाह्रो भएपनि पुरानो साहुले कामबाट छुटाइदिएको थियो । यसले उनी थप चिन्तामा छिन् ।

होल्डिङ सेन्टरमा बस्दै आएको रस्मिला उप्रेती पनि चिन्तामा छिन् । उनी आफैं बिरामी छिन् । रगतमा इन्फेक्सन भएर औषधि खाइरहेकी छिन्। तर, शुक्रबार राति पसेको बाढीले उनको पनि औषधि बगायो । रातको समयमा बाढी पस्यो उनले औषधिसहितका सामान निकाल्न पाइनन् ।त्यस्तै, त्यहीँ रहेका सुकुमवासी राजकुमार माझीको तनाव पनि उस्तै छ । अझ उनको त औषधि खाने समय र सरकारले दिने खान नमिलेर आफ्नै सुरले पकाउँदै खाने गरेका थिए । सोही अनुसार सामानको जोहो गरेका थिए ।

तर, त्यो पनि गएरातको बाढीले बगाएको छ । अब उनीसँग न खानेकुरा छ, न औषधि । औषधि किनेर खाइहाल्न पनि आर्थिक अवस्था सहज छैन । यसले आफूहरुलाई थप तनाव दिएको उनको अनुभव छ । ‘बरु सिधै मारिदिए हुन्थ्यो । यसरी किन तड्पाइ तड्पाइ सताइरहेको हो थाहा छैन’, विरक्त हुँदै उनले भने, ‘यदि केही तयारी थिएन भने किन यसरी बस्ती भत्काएर बिचल्ली बनाएको ? अब त हुँदाहुँदा २५ हजार लिएर तिमीहरु जाओ भन्छ । पछि व्यवस्थापन गरिदिने रे भन्छ । यस्तो अवस्थामा हामी कहाँ जाऔँ ? हामीलाई कसले पत्याउँछ ?’ (अनलाइन खबरको समेत सहयोगमा)

२८ असार २०८३, आईतवार ०६:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा