पोखरा, रसुवा हुँदै आएको आकस्मिक बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान साढे ८ बजेसम्म १६५ जनाको शव फेला परेको जनाईएको छ।
सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ वटा शव फेला परेका छन् ।
भदौ १० गते बुधबार आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना रहेको र विदेशी ४६६ जना रहेको बताइन्छ ।
पर्यटक र अन्य सहित सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना रहेको तथ्यांक बाहिरिएको छ। तर सम्पर्क बिहिन हुनेहरुको संख्या पनि अझ बढ्ने अनुमान गरिएको छ । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना सम्पर्क बिहिन अबस्थामा रहेको बुझिएको छ।
यता, बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६५ वटा शव भेटिएका चितवन प्रहरी कार्यालयले जानकारी गराएको छ । शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए ।
चितवनमा रहेका स्वास्थ्य संस्थाहरुमा बढीमा ५० वटा शव राख्न सक्ने क्षमता रहेको भएपनि ६५ वटा शव भेटिएको र अरु पनि भेटिनसक्ने भएकोले यस किसिमको अबस्थाबारेमा सम्बन्धित निकायमा जानकारी गराईएको बताइन्छ ।
यसैबीच चितवन र नवलपरासी पुर्व तर्फ भेटिएका शवहरु पोस्टमार्टमका लागि पोखरा ल्याउन थालिएको छ । आज बिहिबार ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको हो ।
चितवन अस्पतालमा ठाउँ अभाव भएको कारण पोखरा ल्याइएको कास्कीका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “चितवन र नवलपरासी पुर्व भेटिएका शवहरु राख्ने ठाउँको अभाव भएको कारण पोखरा ल्याइएको हो र ल्याउने क्रम पनि जारी छ।’ उनले भने।
बाढी प्रभावित क्षेत्रमा खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ । उद्धार र राहत कार्य प्रभावकारी बनाउन काठमाडौँमा सर्वदलीय बैठक पनि सुरु भएको छ।















