पोखरा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणीको १९औं स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसर पारेर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले बिभिन्न केन्द्रमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ८ हजार ६ सय ९४ युनिट रगत संकलन भएको छ।
मानव सेवा तथा विश्व बन्धुत्वको भावनालाई व्यवहारमा चरितार्थ गर्ने लक्ष सहित यहि भदौ ५ गतेदेखि ९ गतेसम्म देशका विभिन्न स्थानमा रहेका केन्द्रमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ता, युवा र स्वयंसेवकहरु सहित स्वयमसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो।

रक्तदान अभियान अन्तर्गत भदौ ५ गते १ हजार ४ सय १५ युनिट, भदौ ६ गते ३ हजार १ सय १८ युनिट, भदौ ७ गते १ हजार ८ सय ६६ युनिट, भदौ ८ गते ८ सय ७१ युनिट र भदौ ९ गते १ हजार ४ सय ३६ युनिट रगत संकलन भएको थियो यस किसिमको अभियान अन्तर्गत गत वर्ष आयोजित रक्तदान कार्यक्रममा ११ हजार ९ सय १६ युनिट रगत संकलन भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखराले जनाएको छ ।

रक्तदान अभियानको शुभारम्भ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय को पोखरा -११ फुलबारीस्थित क्षेत्रिय कार्यालयमा आयोजित समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गरेका थिए। समारोहमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परनीता, महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतको सहभागिता रहेको थियो।
दादी प्रकाशमणिज्यूको पुण्य स्मृतिलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको रक्तदान अभियानलाई ‘जीवन बचाउने महान सेवा’ को रुपमा लिएर समाजमा आपसी सहयोग, करुणा, परोपकार र विश्व बन्धुत्वको भावनालाई अभिवृद्धि गर्ने माध्यमको रुपमा लिने गरिएको छ ।














