पोखरा, नेपाल र भारतका प्रधानमन्त्रीको बिचमा भएको उच्चस्तरीय बार्ताका क्रममा एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्ताका क्रममा उक्त समझदारी बनेको र यसले दुई देशबीचको हवाई सम्पर्क सहज बनाएर आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
हवाई सम्पर्क सहज हुँदा दुवै देशका सहरबीच आवागमन सरल बन्ने र आर्थिक तथा पर्यटन गतिविधिमा सकारात्मक असर पर्ने अपेक्षा छ । दुई देश बीच भएको सहमतिलाई कार्यान्वयनमा ल्याउन आवश्यक कार्यविधि र ढाँचा तयार गर्न साथै नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावको अध्ययन गर्न छिट्टै प्राविधिक परामर्श गरिने सहमति पनि दुवै पक्षले गरेका छन् ।
यसैबीच नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । त्यसमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनःनिर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप दिइनेछ । १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध हुनेछ । यी सहायता अन्तर्गतका परियोजना र कार्यान्वयन प्रक्रिया आपसी परामर्शबाट टुंगो लगाइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपाल र भारतले विकसित भारत र समुन्नत नेपाल नामक संयुक्त दृष्टिकोण पत्र अंगीकार गरेका छन् । संयुक्त दृष्टिकोणमा आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, यातायात, सम्पर्क सञ्जाल र जलवायु परिवर्तन प्राथमिकतामा छन्। विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तन पनि यसमा समेटिएका छन् । व्यापार तथा पारवहन सहजीकरणका लागि भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह अर्थात् काण्डला प्रयोग गर्न नयाँ पहुँच मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार बनेपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिने र यसले तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनमा थप विकल्प दिने अपेक्षा गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ पार्न अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा शुरु गरिएको र यसले रामायण सर्किट अन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न र ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध मजबुत बनाउन यसले सघाउने विश्वास छ । बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सेवाको सम्भावना खोजिनेछ ।
रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम रूप दिइएको छ । पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने भएको छ । सीमापार व्यापार र आवागमन सहज बनाउन नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकता दिइनेछ।
भ्रमणका क्रममा आठवटा समझदारीपत्र आदानप्रदान गरिएको थियो । समझदारी पत्रमा भारतको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय अर्थात् गुजरातको गान्धीनगरस्थित राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अर्थात् केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्य समावेश गरिएको छ । यसैगरी भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएकोमा मोदीले निमन्त्रणा स्वीकार गरि नेपाल भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जानकारी गराए । प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको भ्रमणमा गएका शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए ।
दुई प्रधानमन्त्रीको बिचमा भएका प्रमुख सहमति र आयोजना
विकास सहायता : विपत्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाका लागि पाँच हजार छ सय करोड नेपाली रुपियाँ अनुदान तथा ऊर्जा परियोजनाका लागि १८ हजार चार सय करोड रुपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने ।
कृषि र पूर्वाधार : भारतको अनुदान सहयोगमा चितवनमा एग्रो इन्डस्ट्रियल पार्क स्थापना गर्ने तथा नेपालमा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणलाई अघि बढाउने ।
हवाई सम्पर्क : काठमाडौँ–भैरहवा–लखनउको एकतर्फी बी ३४५ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति । यसका प्राविधिक पक्ष र कार्यान्वयनको तौरतरिका टुङ्ग्याउन परामर्श गर्ने ।
रेल सम्पर्क : अयोध्या–जनकपुरधाम सरयु–कमला एक्सप्रेस रेलसेवा शुभारम्भ, रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा तथा नेपालको पूर्वपश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने ।
सीमा पूर्वाधार : भारतको वनवासामा एकीकृत जाँचचौकी शिलान्यास तथा भैरहवा, सुनौली र दोधारा चाँदनीका जाँचचौकी निर्माणलाई अघि बढाउने । दार्चुला र भारतको धारचुलाबिच नयाँ मोटरेबल पुल उद्घाटन ।
पेट्रोलियम पूर्वाधार : मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन, झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम शीघ्र सुरु गर्न नेपालको जोड । ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्य खोज्ने ।
जलविद्युत् र जलस्रोत : ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) शीघ्र टुङ्ग्याउन निर्देशन । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई तीव्रता दिन सहमति ।
विद्युत् प्रसारण : इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली अन्तरदेशीय उच्च क्षमताका दुई विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी गठनसम्बन्धी प्रगतिको स्वागत गर्ने ।
शिक्षा र प्रविधि : नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को शाखा क्याम्पस स्थापना गर्ने तथा स्टार्टअप, डिजिटल र वित्तीय सम्पर्क विस्तारमा सहकार्य गर्ने ।
बन्दरगाह पहुँच : नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित काण्डला दीनदयाल बन्दरगाहको पहुँच उपलब्ध गराउने र आवश्यक पूर्वाधार बनेपछि पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने । नेपालमा बसोबास गर्ने भारतीय र भारतमा बसोबास गर्ने नेपाली नागरिकलाई बैङ्किङ तथा दूरसञ्चार सेवा सहज बनाउने ।
सीमा व्यवस्थापन : सीमास्तम्भ मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यलाई निरन्तरता दिने र बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूलाई काम अघि बढाउन निर्देशन दिने ।














