पोखरा, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले घोषणा गरेका बिभिन्न आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की शाखाले पोखरामा सञ्चारसम्बद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुसंग छलफल गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सरकारले अनुदार व्यवहार देखाएको भन्दै त्यसको विरोधमा छलफल आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।
छलफलका क्रममा महासंघ र सम्बद्ध संघसंगठनहरुका प्रतिनिधिहरुले समाचार कक्षभित्रै प्रहरी पसेर पत्रकारमाथि धरपकड गरिएको तथा सञ्चारमाध्यममा अनाधिकृत रूपमा गाडी तेस्र्याउनेहरुमाथि हालसम्म कारबाही नगरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका थिए । त्यस्तै, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको भन्दै सरकारको यस्तो रबैयाको बिरोधमा छलफलका सबैजसो सहभागी देखिएको अध्यक्ष बरालको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले वर्तमान सरकारले पत्रकार जगतसहित समाजका सम्पूर्ण क्षेत्रलाई उपेक्षा गरेको बताए । सरकारले प्रेस जगतमाथि आर्थिक र सूचनाको नाकाबन्दी लगाएको आरोप उनले लगाए । उनले अस्तित्व रक्षाका लागि पत्रकारहरू संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले तत्कालको कठिन परिस्थितिमा धैर्यता नगुमाई संगठित भएर आफ्ना मुद्दाहरू बुलन्द गर्न पत्रकारहरूलाई आग्रह गरे ।
अर्का पुर्व अध्यक्ष पूण्य पौडेलले देशमा कानुनी शासनको अभाव र स्वतन्त्रतामाथिको संकुचनका कारण पत्रकारिता क्षेत्र खुम्चिँदै गएको बताए । कानुनी शासनको बहाली गर्नका लागि समेत स्वतन्त्रता अनिवार्य सर्त रहेको उनले उल्लेख गरे । महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले महासंघ कमजोर बन्दै गएको बताउंदै छलफलका लागि मात्र छलफल नगरी आन्दोलनका ठोस कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । यसैगरी नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारको मिडियाप्रतिको दृष्टिकोण निरंकुश रहेको र सरकार मिडियामैत्री नभएको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष दीननाथ बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगर, नेपाल पर्यटन पत्रकार संघका अध्यक्ष अध्यक्ष हरी बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव भूपाल गुरुङलगायतले पत्रकारको अस्तित्व रक्षा संगै संचार संस्थालाई टिकाउन सबै एकजुट हुनुपर्ने खाँचो औंल्याएका थिए।














