काठमाडौँ, गणेश नेपाली मोटरबाइकमै रहेका बेला महानगरप्रहरीले ‘ह्विललक’ लगाइदिएको र त्यसैको प्रतिवादमा उनले केही समयपछि आत्मदाह गरेको सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा देखिएको छ । सामाजिक सञ्जालमा फैलिएको भिडियोमा सुनिए अनुसार नगर प्रहरीले ‘भनेको नमानेकाले’ ह्विललक लगाइएको हो । चालक आंफ्नो सवारी साधनमै रहेको अवस्थामा सवारीमा सामान्यतः ह्विललक लगाउने गरिँदैन ।
‘भनेको नमानेकाले’ चालकमाथि कारबाही गर्ने काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरीलाई आफ्नो कारबाहीको परिणाम त्यति दुःखद र भयावह होला भन्ने नलागेको हुनसक्छ । घटनाले भयावह रूप लिएपछि मात्रै उनले त्यसको गम्भीरता थाहा पाएको हुनुपर्छ ।
गणेश नेपालीभन्दा पहिले प्रेमप्रसाद आचार्यको आत्मदाहले पनि नेपाली समाज केही समय उद्वेलित भएको थियो । यसैगरी सर्लाहीका विवेक मण्डल आत्मदाहपछि उपचाररत छन् । काठमाडौंमै आश्विन राउतलाई आत्मदाहको प्रयासपछि प्रहरीले उद्धार गरेको समाचार छ ।
अब त सरकार, संसद् र समाज गम्भीर हुनुपर्ने हो । तर गम्भीरता भन्दा नागरिकको आत्मदाहको प्रयासमा पनि आआफ्नो स्वार्थलाई प्राथमिकता दिएको देखियो। सदनमा गृहमन्त्री र सांसदहरूले आत्मदाहकै विषयमा जुहारी खेले । समाजिक सञ्जालमा आत्मदाहको घटनालाई सनसनीपूर्ण बनाउने होड चलेको छ ।
गणेश नेपाली वा अरू कसैको आत्मदाह एकजना व्यक्तिसँग सम्बन्धित दुःखद घटना मात्र होइन । यो त हाम्रो राज्य प्रणाली र समाजमा मरेको सामाजिक संवेदनाको क्रूर दाग हो । कुनै व्यक्ति आफ्नै शरीरमा आगो लगाउने निर्णयसम्म सामान्य घटनाको कारण मात्र पक्कै पुगेको हुँदैन। त्यो एउटा गहिरो व्यक्तिगत पीडा, निराशा र राज्यप्रतिको विश्वासको चरम विघटनको संकेत हो भन्दा अत्युक्ति हुँदैन ।
पक्कै पनि यस्तो क्षणमा सुरक्षा निकाय, प्रशासन, उपस्थित नागरिक र राज्यका सबै संयन्त्रको पहिलो दायित्व कुनै पनि मूल्यमा मानव जीवनको रक्षा गर्नु हो । त्यसैले यस्ता घटनामा सुरक्षाकर्मीले देखाउने व्यवहारमा प्रक्रिया पालना गर्ने तत्परताभन्दा बढी मानवीय संवेदनशीलता आवश्यक हुन्छ । गणेश नेपालीको दुःखान्तमा यही संवेदनशीलताको अभाव देखिन्छ ।
घटनापछि सार्वजनिक दृश्य र विवरणहरूबाट असहज प्रश्नहरू उब्जेका छन् । समाजले संकटमा परेका व्यक्तिलाई उल्टै उपद्रवीका रूपमा पो बढी हेरेको छ कि ? बचाउनुपर्ने नागरिकका रूपमा सुरक्षाकर्मी वा सम्बन्धित निकायले तत्काल उद्धार, संवाद र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन सकेनन कि ?
पीडितको मृत्यु भइहाल्यो, अब के भनियो कि त्यसको समग्र समीक्षा हुन्छ, घटनापछिको सक्रियताको उद्देश्य दोषारोपण मात्र हुनुहुँदैन । भविष्यमा यस्ता घटना रोक्ने र भैहालेपनि पीडितको जीवन बचाउने क्षमता विकास गर्नसक्ने हुनुपर्छ । सँगै आत्मदाहको महिमा मण्डन गर्न पनि मिल्दैन । यो विरोधको अनुकरणीय उपाय होइन र यसबाट समाधान पनि हुँदैन । तर आत्मदाहको प्रयासलाई उपद्रवीको अपराध वा सुरक्षा चुनौतीका रूपमा मात्र हेर्नु पनि उत्तिकै त्रुटिपूर्ण हुन्छ।
यस्तो अवस्थाको व्यक्ति मानसिक, सामाजिक वा आर्थिक संकटको चरम अवस्थामा पुगेको हुन सक्छ । त्यसैले यस्ता घटनामा सुरक्षाकर्मीलाई संकट व्यवस्थापन, तनाव न्यूनीकरण र आत्महत्या रोकथामसम्बन्धी विशेष तालिम आवश्यक देखिन्छ ।
काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई सहायता उपलब्ध गराउने आश्वासन दिएको छ । यो महानगरपालिकाको पाप कटानी श्रद्धाञ्जलि मात्रै हो। मानव जीवनको क्षतिपूर्ति त कहिल्यै हुँदैन ।
राज्यले घटनाको निष्पक्ष छानबिनका साथै सरकारी कर्मचारीको विशेषगरी सुरक्षाकर्मीको कार्यशैली र संस्थागत मानसिकताको पनि वस्तुनिष्ठ समीक्षा गर्नु आवश्यक देखिन्छ । सुरक्षा फौजमा प्रतिवाद नगर्ने र नसहने संस्कार हुर्काइएको छ । त्यसको पनि विशेष समीक्षा समयोचित हुनेछ।
यत्तिकैमा नेपाली समाज संवेदनहीन शासनको पक्षमा उन्मुख भएको निष्कर्ष निकाल्नु न्यायोचित नहोला । तर अबको छानबिनमा सामाजिक मानसिकता र शासकीय प्रवृत्तिमा अनुसन्धान पनि समावेश गरियो भने भविष्यमा प्रेमप्रसाद आचार्य र गणेश नेपालीले जस्तो गरि आत्मदाह गर्नु नपर्ने हुनसक्छ ।
















