पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितान मगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित कर्म – कर्ण पुरस्कार २०८२ बाट पत्रकार रुद्रबहादुर र २०८३ बाट इन्दिरालाई सम्मान गरिने भएको हो ।
प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार रुद्रबहादुर र इन्दिराको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी दिए ।
वरिष्ठ पत्रकार एवं फोनिज गण्डकीका सल्लाहकार दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देबिका तामाङ रहेका थिए । उक्त पुरस्कार यही असार २९ गते सोमबार दिईने भएको छ ।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका पत्रकार रुद्रबहादुरले २०४१ सालमा परिस्थिती साप्ताहिकबाट पत्रकारिता शुरु गरेकोमा अवलोकन, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आर्दश समाज दैनिक पत्रिका हुदै हाल फेवा पोष्ट साप्ताहिकमा कार्यरत छन । उनि तत्कालिन आदिवासी जनजाति पत्रकार संघ (अनिज) को संस्थापक अध्यक्ष समेत हुन ।
त्यस्तै कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित हुन लागेकी पत्रकार इन्दिरा गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आवद्ध रही पत्रकारिता गरिरहेकी छन । उनले रेडियो नेपालमा गुरुङ भाषामा र रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचारवाचन गरेकी थिईन । त्यसपश्चात राष्ट्र भाषामा पनि समाचारवाचन गरिरहेकी गुरुङ रेडियो नेपाल मार्फत निरन्तर भाषा पत्रकारितालाई जिवन्त बनाईराख्न क्रियाशिल छन ।
















