पोखरा, पोखराबाट दुबईको लागि अन्तराष्ट्रिय उडान गर्न फ्लाई दुबईले उडान तालिका सार्बजनिक गरेर टिकट बुकिंग खुला गरेपछि पोखरा र आसपासका क्षेत्रका ब्यबसायी एबम सर्बसाधारण उत्साहित बनेका छन । पोखराबाट हुने अन्तराष्ट्रिय उडान नियमित र दिर्घकालिन हुनुपर्ने अपेक्षा त्यस क्षेत्रका सर्बसाधारणले राखिरहेको अबस्थामा फ्लाई दुबईले पनि उडान तालिकालाई नियमित र दिर्घकालिन बनाउन सरकारी एबम निजि क्षेत्रको साथ खोजेको छ ।

आगामी सेप्टेम्बर २३ अर्थात असोज ७) गतेदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हाल फ्लाई दुबईको तर्फबाट पोखरा क्षेत्रमा समन्वय गरिरहेका पर्यटन ब्यबसायी पोमनारायण श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए। पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठले फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भएपनि यसको निरन्तरताबारेमा दुवै पक्षबाट चासो र चिन्ता शुरु भएको बताए ।
यसअघि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन नसकेको अबस्थामा पोखरा–दुबई पनि दीगो नहुने हो कि भन्ने आशंका र चिन्ता छ । यो चिन्ता पोखरेलीलाई मात्रै होईन, स्वयम् फ्लाई दुबईका बिबिन्न तहका पदाधिकारीमा पनि देखिएपछि उसले सरकार र नीजि क्षेत्रको साथ खोजेको श्रेष्ठले स्पष्ट पारे ।

यसै क्रममा फ्लाई दुबईको टोली पोखरा आएर बिभिन्न तहको सरकारका प्रतिनिधि र नीजि क्षेत्रको टोलीसँग भेटघाट गरेको छ । फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमाल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यदेखि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुुमानसिंह गुरुङसम्मलाई भेटेर आफ्नो चासो व्यक्त गरेको छ । त्यसक्रममा टोलीले सरकारले दिने छुट दिन र श्रम स्वीकृति पनि पोखराबाट दिने ब्यबस्था गरिदिन माग गरेको थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाईन्सलाई सरकारले हवाई ईन्धनमा १ सय डलर छुट दिने घोषणा गरेको छ । त्यसबाहेक विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा पनि छुट दिने निर्णय सरकारले गरेको छ । तर यो छुटको निर्णय आगामी सेप्टेम्बर १७ सम्मको लागि मात्र रहेकोले त्यसबारेमा फ्लाई दुबईको टोलीले सरकारी अधिकारीहरुसंग चासो व्यक्त गरेको हो ।
फ्लाई दुबईका लागि नेपालका महाप्रबन्धक नवराज शाहीले सरकारले दिने छुटको अबधि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्म बढाएमा अन्तराष्ट्रिय उडान दीगो बन्ने भन्दै त्यसका लागि पहल गरिदिन संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुसंग आग्रह गरेको थिए । उनले भने, ‘हामी उडानका लागि तयारी अवस्थामा छौं, तर यसलाई दीगो बनाउनका लागि छुट अनिवार्य भएकाले त्यसका लागि सरकारले चाँडो निर्णय गरिदिनुपर्यो ।’ उनले भने, “श्रम स्वीकृति लिन काठमाडौँ नै जानुपर्ने बाध्यता कायम रहे पोखरा क्षेत्रका यात्रु समेत काठमाडौँ बाट नै उड्न सक्छन, तसर्थ यस बारेमा सरकारले छिटो निर्णय गर्नु आबश्यक छ ।”
भेटघाटको क्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्तराष्ट्रिय उडान गर्नको लागि आवश्यक सबै सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । हामी पोखराबाट अन्तराष्ट्रिय उडान नियमित होस् भन्ने चाहन्छौं,उनले भने,‘त्यसका लागि हामी हाम्रो प्रदेशबाट गर्नुपर्ने सबै सहयोग गर्छौं र नजिकका प्रदेशका नागरिकलाई पनि पोखराबाटै उड्नका लागि प्रेरित गर्न आवश्यक पहलकदमी लिनेछौं ।’ उनले सरकारी छुट नियमित गर्नुका साथै श्रम स्वीकृति पोखराबाटै लिने व्यवस्थाका लागि पनि पहल गर्ने प्रतिबद्दता समेत प्रकट गरे ।

उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले पनि पोखरा–दुबई उडानपछि पोखराको पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्दै सो उडानलाई दीगो बनाउन आवश्यक पहल गर्ने आस्वासन दिईन् । हामीले हाम्रोतर्फबाट आवश्यक सबै सहयोग गर्छौं, तपाईंहरुले पनि सरकारले दिएको सहयोग अनुरुप यात्रुलाई विभिन्न छुट दिएर आकर्षित गर्नूस् ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि फ्लाई दुबईका प्रतिनिधिलाई पोखरा–दुबई उडानलाई दीगो बनाउन सुझाव दिंदै आँफुहरु सहयोग गर्न प्रतिबद्द रहेको जानकारी गराए ।

फ्लाई दुबईको टोलीले पोखरामा रहंदा नीजि क्षेत्रतर्फ पोखरा उद्योग वाणिज्य संघ, नाट्टा, हान, टान, रेवान र एनवाईईएफका प्रतिनिधिहरुसंग पनि भेटघाट गरेको थियो नीजि क्षेत्रसँगको भेटमा भने फ्लाई दुबईको टोलीले व्यवसायीक साझेदारीदेखि पोखरा–दुबई उडानका लागि प्रचारप्रसार गरिदिन आग्रह गरेको बुझिएको छ ।
नीजि क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा–दुबई उडानका लागि आवश्यक सबै सहयोग गर्ने बताए । उनले भने,‘यो तपाईंहरुका लागि जति आवश्यक छ, त्यत्ति नै हाम्रो लागि पनि आवश्यक छ। त्यसैले पोखरा- दुबईको उडानलाई दीगो बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं ।’

पोखरामा सरकार र नीजि क्षेत्रसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्केको तर मौखिक आस्वासनसंगै चाँडै औपचारिक निर्णय आओस् भन्ने अपेक्षा गरेको भेटघाटको समन्वय गरेका पोमनारायण श्रेष्ठले गुरुकुल खबरलाई बताए । श्रेष्ठका अनुसार यस पटकको भेटघाटले फ्लाई दुबईलाई आंफ्नो उडान नियमित र दिर्घकालिन रुपमा संचालन गर्ने चाहना बढेको छ भने पोखराको निजि एबम सरकारी क्षेत्रले पनि पोखराबाट अन्तराष्ट्रिय उडानले निरन्तरता पाउन सकोस भन्ने चाहना व्यक्त गरेको पाइएको श्रेष्ठको बुझाई छ ।
















