Play

पोखराका अग्रज पत्रकार, शिक्षासेवी एबम प्रजातन्त्रका सेनानी केशव पराजुली अर्थात ‘केशव गुरु’ रहेनन

गण्डकी प्रदेश सरकारले ५० हजार सहित सम्मान गर्ने भनि कार्यक्रम तय भएकोमा तिनदिन अगाडी नै पराजुलीको निधन


गुरुकुल खबर


पोखरा, पोखराका अग्रज पत्रकार एबम प्रजातन्त्रका सेनानी केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगलवार राति १२ बजे पोखरा महानर्गरपालिका -३ नदीपुरस्थित निवासमा उनको निधन भएको हो । पोखरामा रहेर पत्रकारिता, राजनीति र शिक्षाको क्षेत्रमा क्रियाशील हुनुको साथै महत्वपूर्ण योगदान गरेका पराजुलीको अन्त्येष्टि बुधबार सेती नदी किनारको तुलसीघाटमा गरिएको हो।

पोखराको पत्रकारिताको बिकास या सम्बर्द्दनमा पराजुलीको योगदान पनि महत्वपूर्ण रहेको छ। पंचायती कालमा दर्ता भएको ‘जनमत दैनिक’ मा संस्थापक सम्पादक रहेर व्यक्तिगत रुपमा नै पत्रिका प्रकाशनमा जुटेका पराजुलीले उक्त पत्रिकालाई लामो समयसम्म जिबन्त राख्न प्रयास गरेका थिए।

पंचायतकालमा नै बन्द हुन पुगेको जनमत दैनिकलाई प्रजातन्त्रको पुनर्स्थापनासंगै पुनप्रकाशन गरिएकोमा पराजुलीलाई प्रधान सम्पादक, नारायण कार्कीलाई कार्यकारी सम्पादक र गंगाधर पराजुलीलाई सह-सम्पादक राखेर जनमतको प्रकाशनलाई निरन्तरता दिईएको थियो । त्यसपछि पनि शंकर श्रेष्ठ प्रकाशक एबम केशब पराजुली सम्पादक रहेर प्रकाशन भएकोमा पछिल्लो केहि बर्षदेखी भने जनमत पत्रिकाको प्रकशन बन्द भएको छ।

लामो समयसम्म विभिन्न पत्रपत्रिकामा समाचारको साथै लेख रचनाहरु लेख्ने गरेका उनका केही कृतिहरु पनि प्रकाशित छन् ।  शिक्षा र राजनीतिमा पनि महत्वपूर्ण भूमिका निर्बाह गरेका पराजुलीले लामो समय शिक्षण पेसा अँगालेर धेरैलाई ज्ञान बाँडेको कारण पनि धेरैले उनलाई ‘केशव गुरु’ को नाममा सम्बोधन गर्ने गर्थे। नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय रहेर काम गरेका उनी प्रजातन्त्रको लागि भएका हरेक आन्दोलनमा अग्रमोर्चामा देखिन्थे ।

प्रजातन्त्रको पुनर्स्थापनको लागी २०४६ मा भएको आन्दोलनमा पराजुलीले संयुक्त जनआन्दोलनको कास्की जिल्लाको संयोजकको समेत जिम्मेवारी सम्हालेका थिए। उनि २०४३ सालमा भएको नगरपंचायतको निर्बाचनमा नेपाली काँग्रेसको निर्देशन अनुसार पोखरा नगरको प्रधानपन्च पदमा चुनाब लडेको भयपनी बिजय प्राप्त गर्न सकेका थिएनन ।

पछिल्लो समय अल्जाईमर रोगबाट समेत पिडित बनेका पराजुली केहि बर्षदेखी अशक्त जस्तै बनेका थिए । पराजुलीकी श्रीमती, १ छोरा र ४ छोरी छन्। उनका छोरा लोकरन्जन अर्थात ‘रमेश’ पराजुली हुन् । स्व पराजुलीकी श्रीमती लक्ष्मी पराजुली नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील रहँदै आएकोमा पोखरा -३ मा जनप्रतिनिधि अर्थात वडासदस्य समेत रहेर काम गरेकी थिईन। स्व पराजुलीका एक छोरा रमेश पराजुली सहित छोरी रमा पराजुली पनि पत्रकारिता र अनुसन्धानको क्षेत्रमा सक्रिय छन । पराजुलीका अन्य तिन छोरीहरु उमा, क्षमा र सिमा रहेका छन ।

उनलाई पोखराको गरिमा बढाएको भन्दै पोखरा महानगरपालिकाले यस अगाडी ‘पोखरेली नवरत्न’ बाट सम्मान गरेको थियो । पराजुलीलाई यहि असार २० गते गण्डकी प्रदेश सरकारले समेत  ५० हजार रुपैयासहित सम्मान गर्ने निर्णय भएको बुझिएको छ। प्रेस रजिस्ट्रार कार्यालयले  पोखराका अग्रज पत्रकार पराजुलीसहित बिभिन्न जिल्लाका ५ जना पत्रकारहरुलाई नगद ५० हजार रुपैयासहित सम्मान गर्ने निर्णय गरेको प्रेस रजिस्ट्रार बिमला भण्डारीले गुरुकुल खबरलाई जानकारी दिईन ।

१७ असार २०८३, बुधबार २३:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा