चितवन, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशन सम्पन्न नहुँदै पार्टीको बिभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुको असन्तुष्टि बिभिन्न संचारमाध्यम लगायत सामाजिक संजालबाट सार्बजनिक भैरहेको छ । महाधिबेशनको हलभित्र लोकतन्त्रिक अभ्यास चलिरहेको केहि नेताहरुले बताएपनि बाहिर भने केन्द्रीय समितिको सदस्यका उम्मेदवारहरुको साथै प्रतिनिधिहरूको असन्तुष्टि सार्बजनिक भैरहेको छ । महाधिवेशन भद्रगोल हुँदा रास्वपाको संगठनात्मक तयारीमाथि पार्टी भित्रैबाट आलोचना बढ्ने क्रम शुरु भएको छ ।
केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका कास्की -२ बाट निर्बाचित सांसद उत्तमप्रसाद पौडेलले उम्मेदवारको नामावली प्रकाशन गर्दा नेपाली लिपी र अंग्रेजी अल्फाबेट नमिलाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘उमेदवार नामावली देखेर तीनछक परें म । न नेपाली लिपीमा क्रम छ, न अंग्रेजी अल्फाबेटमा मिलाएको छ,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘न त सुरुमा दर्ता गरेकाको नामअनुसार भएको छ ।’
नेता पौडेलले नामावली प्रकाशनको तरिकाबारे नेतृत्वसँग जिज्ञासा पनि राखेका छन् । ‘कुन तरिका हो यो नामावली प्रकाशनको ?,’ प्रश्न गर्दै उनले सोधेका छन्, ‘कि जसो गरे पनि हुन्छ भन्ने हो नयाँले ?’ पौडेलले उम्मेदवारको नामावली प्रकाशनको शैलीप्रति जिज्ञासा चितवनको गर्मी जस्तै बढेको पनि टिप्पणी गरेका छन् । ‘जिज्ञासा बढ्यो के चितवनको गर्मी जस्तै,’ उनले लेखेका छन्, ‘बुझिनँ मैले, बुझाइदेउ कसैले ।’
स्याङ्गजा जिल्लाबाट निर्बाचित सांसद धनञ्जय रेग्मीले महाधिवेशन लथालिंग पारेर पदाधिकारीहरूले पार्टीको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गरेको आरोप लगाए । ‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन्,’ उनले भने, ‘त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’ नेतृत्वको विरुद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने आशंका पनि व्यक्त गरे । ‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारिनै हाल्छु,’ उनले भने, ‘यति बोल्नै नहुने थियो तर, बोलिहालियो ।’
सांसद रेग्मीले भरतपुरमा बेथिति देखिएको भन्दै यसरी देश चलाउन नसकिने पनि नेतृत्वलाई स्मरण गराए । ‘यति बेथिति गरेर हामीले देश चलाउन सक्दैनौं है साथीहरू,’ उनले भने, ‘मैले आजै भन्दिएको छु ।’
महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेदवारहरू भोटिङ मेसिनमा उम्मेदवारको नाम वर्णानुक्रमअनुसार नरहेको र उम्मेदवारी दर्ता क्रममा नमिलाइएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य पदका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूचीविपरीत मतदानका लागि नामहरू राखिएको भन्दै आपत्ति जनाएका छन् ।

‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ?,’ कार्कीको प्रश्न छ, ‘मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम, स्थान तोकियो ?’ उनले सामाजिक सञ्जाल फेसबुकममार्फत महाधिवेशनमा देखिएको भद्रगोलप्रति आफ्ना प्रश्नहरू रहेको पनि बताएका छन् ।
अर्का सांसद यज्ञमणि न्यौपानेले पनि उम्मेदवारको सूचीमा बबण्डर गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । आफूभन्दा पछि फारम भरेका उम्मेदवारहरूको अगाडि नाम राखिएको र नाम राख्दा ‘अल्फाबेटिकल अर्डर’ पनि नमिलाएको उनको आरोप छ । ‘मेरो नाम खुला सूचीको ४२ नम्बरमा रहेछ । म भन्दा पछि फर्म भरेका साथीहरूको अगाडि नै नाम राखेको देखियो,’ केन्द्रीय सदस्यका उम्मेदवार न्यौपानेले भनेका छन्, ‘अल्फाबेटिकल अर्डरसमेत मिलाएको रहेनछ ।’
सांसद आशिका तामाङले केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको नम्बर र भोटिङ मेसिनमा राखिएको नम्बर पनि फरक परेको छ । ‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा के को आधारमा १०६ नम्बरमा पुग्यो ?,’ उनले फेसबुकमा लेखेकी छन्। इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरेपछि अनलाइनखबरसँग कुरा गर्दै सांसद तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताइन् । नचिनेका/नजानेकालाई पनि मतदान गर्नैपर्ने बाध्यता रहेको उनको बुझाई छ ।
मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै सांसद तामाङले भनिन्, ‘आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्न गाह्रो भयो ।’ नचिनेका/नजानेकालाई भोट हाल्दिनँ भन्न नपाइने अवस्था रहेको उनको भनाइ थियो । ‘भोटिङको सिस्टम जुन राख्नु भएको छ– महिला, समावेशी अथवा खुला–महिला भनेर जुन भनिएको छ, त्यो अनुसारको छैन त्यहाँ,’ तामाङले भनिन्, ‘मन लागोस् कि नलागोस् ६४ जनालाई तपाईंले भोट हाल्नै पर्ने । त्यो नहाली नेक्स्टमा जानै नपाइने ।’ उनले आफ्नै नाम खोज्न पाँच मिनेट जति समय लागेको पनि बताइन् ।
अर्का सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनी मतदान व्यवस्थापनको आलोचनामा उत्रिएका छन् । २१ फागुनको निर्वाचनमा भक्तपुर–२ बाट प्रतिनिधिसभा सांसद चुनिएका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’
केन्द्रीय सदस्यका उम्मेदवारहरू महाधिवेशनस्थलमा देखिएको भद्रगोलको दृश्यप्रति सामाजिक सञ्जालमार्फत खिसिट्युरीसमेत गरिरहेका छन्। ‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाउ लडियो,’ फेसबुकमा हाँसेको इमोजी राख्दै उम्मेदवार यदुकुमार गिरीले लेखेका छन्। रास्वपाको महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू पनि निर्वाचन प्रक्रियाबाट सन्तुष्ट देखिँदैनन् । उनीहरू मतदानका लागि गरिएको व्यवस्थापनमा कमजोरी भएको भन्दै आपत्ति जनाइरहेका छन् ।

अछामबाट महाधिवेशन प्रतिनिधिरहेका एकेन्द्रप्रसाद देवकोटाले व्यवस्थापनको कमजोरीका कारण आफूले चिन्दै नचिनेका उम्मेदवारहरूलाई जथाभावी भोट हालेर आएको बताए । ‘६४ जना खुलाबाट छ । ६४ जनामा हामी सबैलाई चिन्दैनौं नि त,’ उनले भने, ‘चिनेजतिका राम्रा–राम्रा सम्भावित व्यक्तिहरू जो छन्, तिनीहरूलाई भोट हालियो । नचिनेकोलाई घचाघच हालेर आएको हो ।’
मतदानस्थल बाहिर भेटिएका एक प्रतिनिधिले अनलाइनखबरसँग पार्टीमा ‘राइट टु रिकल’ को व्यवस्था भएको गर्व गरिए पनि मतदान कक्षमा वास्तविकता अर्कै देखिएको बताए । ‘मतदातालाई आफूले योग्य ठानेको व्यक्तिलाई मात्र मत दिने स्वतन्त्रता छैन र सत्रु वा अस्वीकार्य उम्मेदवारलाई समेत अनिवार्य मत हाल्न बाध्य पारिन्छ भने त्यो लोकतान्त्रिक अधिकार होइन,’ उनले भने, ‘बाध्यकारी प्रक्रिया हो ।’
अर्का महाधिवेशन प्रतिनिधिले पनि ‘राइट टु रिकल’ को आदर्श छाँट्न र ‘नो भोट’ को अभियान चलाउने रास्वपाले महाधिवेशनमा मन नलागेका प्रतिनिधिलाई भोट हाल्न नपाउने व्यवस्था नगरेको भन्दै आपत्ति जनाए । उनले खुलातर्फको ६४ सिटमा क्लस्टर नछुटयाउँदा महाधिवेशन प्रतिनिधिलाई कुन क्लसटरबाट कति प्रतिनिधि निर्वाचित हुने भन्नेबारे नै अन्यौल देखिएको प्रतिक्रिया दिए ।
अर्का प्रतिनिधिले लोकतन्त्रको सौन्दर्य बाध्यतामा नहुने बताए । मतदातासँग मन परेको उम्मेदवारलाई भोट दिनेमात्रै नभएर मन नपरेको व्यक्तिलाई भोट नदिने अधिकारसमेत हुनुपर्ने बताए । ‘अन्यथा राइट टु रिकल र आन्तरिक लोकतन्त्रका भाषणहरू केवल नारामै सीमित हुने छन्,’ ती प्रतिनिधिले अनलाइनखबरसँग भने, ‘लोकतन्त्रमा मतको सम्मान हुनुपर्छ, मतदातामाथि आदेश होइन ।’
उम्मेदवार र प्रतिनिधिहरूले महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाइरहँदा रास्वपाका एक नेताले मेसिनमा प्रविष्ट गर्न प्राविधिकलाई उपलब्ध गराइएको नामावलीमै भद्रगोल भएको बताए । उनले मधेशी खुला, मधेशी महिला, थारू, थारू महिलालगायत विभिन्न क्लस्टरमा उम्मेदवारी दर्ताका भए पनि अन्तिम नामावली तयार गर्दा क्लस्टरहरू नछुट्याएरै भोटिङ मेसिनमा विवरण इन्ट्री गर्न दिइएको बताए।
‘६४ जनालाई खुलामै राखेर अन्तिम सूची प्राविधिकहरूलाई दिइयो । उम्मेदवारले कुन क्लस्टरमा उम्मेदवारी दिएका थिए भन्ने सरोकार प्राविधिकहरूलाई थिएन, उम्मेदवारहरूको नाम कुन आधारमा क्रमबद्ध गरिएको थियो भन्नेबारे पनि प्राविधिकहरुको चासोको विषय रहेन,’ ती नेताले भने, ‘पार्टीले जस्तो सूची दियो त्यस्तै इन्ट्री भोटिङ मेसिनको प्रणालीमा गरियो ।’
सोही कारण महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दाको नम्बर र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिलेकाले समस्या सिर्जना भएको गुनासो प्रतिनिधि र उम्मेदवारहरू गरिरहेका छन् । रास्वपाका एक नेताले उम्मेदवारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट संकलन गरिएकाले पनि समस्या भएको बताए । ‘एउटै क्लस्टरको फारम तीन ठाउँबाट वितरण भएछ ।
त्यसले एउटै सिरियल नम्बर तीन–तीन पटक दोहोरिने अवस्था भयो,’ उनले भने, ‘पछि ती सबै सूची एकीकृत गर्दा सुरुवाती क्रममा रहेको उम्मेदवार धेरै पछाडि पुग्ने अवस्था बन्यो । अहिले देखिएको समस्या त्यही हो ।’ यो अवस्था अनुभवको कमी र निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको ती नेताले बताए । रास्वपाले नयाँ कार्यसमिति चयन गर्न राम–लक्षमण भोटिङ मेसिन प्रयोग गरेको छ।














