पोखरा, पोखरा महानगरपालिका–१७ बिरौटा बस्दै आएकी मुना तिवारीमाथि उनका ज्वाईं ध्रुवराज अधिकारीले सार्बजनिक स्थानमा चक्कु प्रहार गरि घाइते बनाएका छन। ज्वाईं र सासुको बिचमा लेनदेन सम्बन्धी विवाद बढेपछी ज्वाईं ध्रुव र उनकी श्रीमती तथा घाइते मुनाकी छोरी संगीता तिवारी समेतको मिलेमतोमा मुनामाथि चक्कु प्रहार भएको बताइएको छ ।
चक्कु प्रहारबाट घाइते भएकी तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि बिरौटास्थित नोबेल अस्पतालमा लागिएको प्रहरीले जनाएको छ। घाइते बोल्न सक्ने र खतरामुक्त अबस्थामा रहेको बताइएको छ।
प्रहरीका अनुसार आज बुधबार अपराह्न करिब सवा चारबजेको समयमा पोखराको राममन्दिर नजिक कास्कीको पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गर्ने अधिकारीको घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको बताइएको छ।
घटनापछि स्थानीयवासीको सहयोगमा ध्रुवराज अधिकारीलाई चक्कु सहित नियन्त्रणमा लिइएको थियो। हाल उनी वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















