पोखरा । आजबाट गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमासरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषदले गरेको हो । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन१ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।
कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारलेसिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।
एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ । जिपमा प्रतिकिलोमिटर साढेपाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ लाग्ने छ ।
सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ। २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ ।
यसैगरी ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रतिपल्स (प्रत्येक दुई सय मिटर) मा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा तिर्नुपर्छ ।
संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो ।