पोखरा, पोखराका बरिष्ठ साहित्यकार एबम नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका छन। उनको मुटुमा भल्ब ब्लकेज भएकोले अपरेसन गर्नको लागि अस्पतालमा भर्ना गरिएको हो ।
अघिल्लो साता काठमाडौँमा आयोजित ‘सरुभक्तका कबिताहरुको परिचर्चा’ भन्ने एक कार्यक्रममा सहभागी हुन गएका सरुभक्त स्वास्थ्यमा केहि असहज महशुस गरेपछि नर्भिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्न पुगेको थिए। स्वास्थ्य परिक्षणका क्रममा उनको मुटुका ३ वटा भल्ब ब्लकेज भएको पत्ता लागेपछि त्यस सम्बन्धि उपचार र परामर्शमा उनि जुटेका थिए ।
स्वास्थ्यकर्मी र चिकित्सकसंगको सल्लाह पछि पोखरा आएका सरुभक्त आज सोमबार बिहान काठमाडौँ पुगेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन। उनको अपरेसन बुधबार गरिने भएको छ।
आज सोमबार दिनभरजसो सरुभक्तसंग अस्पतालमा रहेका पोखराका अग्रज साहित्यकार एबम संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सरुभक्तको उपचारमा संलग्न डा. अनुप भट्टराईसहितका स्वास्थ्यकर्मीको भनाई उद्दृत गर्दै सरुभक्तको स्वास्थ्य अबस्था खतरामुक्त रहेको बताए।
गुरुकुल खबरसंग कुरा गर्दै सोमबार बेलुका श्रेष्ठले भने ‘सरुभक्तजी लाई आज र भोलि सुपरभिजनमा राखिने र पर्सि बाईपास सर्जरी अपरेसन गर्ने तय भएको छ।’
















