पोखरा, फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । फेवातालमा डुंगा चलाउने ब्यबसायीहरुको संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको जनाएको छ ।
फेवातालमा डुंगा चलाउने क्रममा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च बापत १ लाख रुपैयाँ र मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्ने गरि बिमा गरिएको बुझिएको छ ।
संस्थामा दर्ता भएर सञ्चालनमा रहेका डुंगाको हकमा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले गुरुकुल खबरलाई जानकारी दिए । फेवातालमा वर्षेनी विभिन्न कारणले डुंगा दुर्घटना हुने गरेकोमा बिमा गरिएपछि डुंगा चालकहरुले पनि सुरक्षाको महशुस गरेका छन् ।
फेवातालका विभिन्न ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ वटा डुंगा सञ्चालन भइरहेको र करिब ३ सय ५० जना डुंगा चालक रहेको बताइएको छ।
















