पोखरा, पोखरा महानगरपालिका -२५ हेमजा निवासी शिक्षासेवी एबम सामाजिक र राजनीतिक कार्यकर्ता केशब शरण पौडेलको अल्पायुमै अकल्पनीय ढंगले निधन भएको छ। शुक्रबार बिहान सधैं झैं मर्निंगवाकमा निस्केका पौडेल हृदयाघातको कारण अचानक ढलेर बेहोस भएको र तत्काल अस्पताल पुर्याउंदा डाक्टरले उनको निधन भैसकेको बताएका थिए।
स्थानीय संचारकर्मी समेत रहेका प्रकाशचन्द्र सापकोटाका अनुसार बिहान आंफ्नो श्रीमती सहित मर्निंगवाकमा निस्केको समयमा घर भन्दा केहि पर उनि अचानक ढल्न पुगेको र त्यसपछि गाडीमा राखेर अस्पातल पुर्याउंदा डाक्टरले उनको निधन भैसकेको बताएका थिए । करिब ५८ बर्षीय पौडेलको शुक्रबार नै अन्त्येष्टि गरिएको सापकोटाले जानकारी दिए ।
हेमजास्थित हेमजा आवासीय माबि संस्थापक एबम प्रबन्ध निर्देशक केशब पौडेल निजि बिधालयका संचालकहरुको संस्था एन प्याब्सन कास्कीको सचिब समेत हुन। हेमजा आवासीय माबिको संचालन स्व. केशब र उनका भाई माधव पौडेल लगायतले गर्दै आएको छन ।
स्व. पौडेल नेकपा एमालेको कास्की जिल्ला समितिका पुर्व सदस्य समेत हुन । उनको राजनीतिक प्रभाव हेमजा सहित कास्की जिल्लामा राम्रो रहेको बताईन्छ ।
स्व. केशवकी धर्मपत्नी शारदा सहित दुई छोराहरु सन्तोष र शुसिल तथा छोरी सुष्मिता रहेको हेमजा निवासी नेपाली काँग्रेसका नेता रामचन्द्र त्रिपाठीले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैबीच, हेमजाका राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व केशव पौडेलको निधन भएकोमा वडाका वडाध्यक्ष मोती तिमिल्सिना सहित नेकपा एमालेका नेताहरु, बिभिन्न शिक्षण संस्थाका संचालकहरु र एन प्याब्सनको तर्फबाट समेत स्व. पौडेल प्रति श्रद्दान्जली र परिवारजनमा समबेदना प्रकट गर्ने क्रम जारी छ।














