Play

ग्लोबल आइएमई बैंकका खड्काको आत्महत्या: सिईओ रेग्मी, डेपुटी सिईओ पोखरेलसहित चारजना बिरुद्द जाहेरी

गुरुकुल खबर


बिराटनगर, झापाको दमक नगरपालिका–८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काको आत्महत्या प्रकरणमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतसहित चारजना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ ।  ग्लोबल आइएमई बैंकको बिराटनगर शाखाका कर्मचारी पिताम्बर खड्काले सामाजिक संजाल फेसबुकमा ‘यु बास्टर्ड किल्ड मी’ सहित बैंकमा कार्यरत चारजनाको सामूहिक तस्बिर पोस्ट गरेको र त्यसको केहि समयमा घरभित्र झुन्डिएको अवस्थामा उनलाई भेटिएको थियो।

प्रहरीका अनुसार खड्काले फेसबुकमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नाम लेखेर उनीहरुको सामूहिक फोटो सार्वजनिक गर्दै उनीहरूले नै आँफुलाई मारेको भन्ने स्टेटस लेखेका थिए। सुरेन्द्र रेग्मी ग्लोबल आइएमई बैंकका सीईओ हुन् भने सुमन पोखरेल सोही बैंकका डिपुटी सीईओ हुन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार साँझ करिब ५ बजेतिर आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएको अवस्थामा खड्का फेला परेका थिए। मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको थियो।

घटनापछि सार्वजनिक भएको सामाजिक सञ्जालको पोस्टले भने घटनालाई थप संवेदनशील बनाएको छ ।  त्यसपछि मृतकका परिवारजन मंगलबार इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । परिवारले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उपमहाप्रबन्धक दीपचन्द्र रेग्मी र मानव संशाधन विभाग प्रमुख अनामिका कुँवर सिंहविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका हुन् ।

प्रहरीले जाहेरी दर्ता भइसकेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमक स्रोतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक सामग्री, कार्यालयको कार्य वातावरण, मृतकले भोगेको भनिएको मानसिक दबाब तथा परिवारजनको बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ।घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन् । आरोपितहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि नबढाइएसम्म शव नबुझ्ने अडान परिवारले लिएको बताइएको छ । परिवारजनले संगठित रूपमा मानसिक यातना दिइएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रहरी स्रोतका अनुसार जाहेरीमा नाम उल्लेख भएका व्यक्तिमध्ये बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी हाल नेपालबाहिर रहेको जानकारी प्राप्त भएको छ । अन्य अधिकारीसँग भने बयान तथा आवश्यक सोधपुछको तयारी भइरहेको जनाइएको छ । प्रचलित कानुनअनुसार आत्महत्या गर्न उक्साउने, निरन्तर मानसिक यातना दिने वा त्यसतर्फ प्रेरित गर्ने गतिविधि प्रमाणित भए आत्महत्या दुरुत्साहन अन्तर्गत फौजदारी अभियोग लाग्न सक्छ ।

यद्यपि, यस्ता घटनामा सामाजिक सञ्जालमा लेखिएका अभिव्यक्ति मात्र पर्याप्त आधार नहुने भएकाले मनोवैज्ञानिक, प्रशासनिक तथा परिस्थितिजन्य सबै पक्षबाट अनुसन्धान गरिने कानुनी जानकारहरू बताउँछन् । उक्त घटनाका कारण ग्लोबल आइएमई बैंकका जिम्मेवार व्यक्तिहरु जोडिएको भएपनि बैंकको तर्फबाट भने हालसम्म कुनै किसिमको प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

५ जेष्ठ २०८३, मंगलवार २२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा