पोखरा, नेपाली कांग्रेसमा नियमित बिशेष महाधिबेशन भन्ने बिषयमा उत्पन्न बिबादका कारण पार्टी विभाजनको संघारमा पुगेको अनुमान गर्न थालिएको छ । पार्टीको बिशेष महाधिबेशनबाट गगनकुमार थापा सभापति बनेपछि पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित अधिकांश पदाधिकारी एबम सदस्यहरु भने निरन्तर बिरोधमा लागिरहेकोमा पछिल्लो समयमा भैरहेका गतिबिधिका कारण पार्टी विभाजन तर्फ उन्मुख हुन लागेको बताइन्छ। संस्थापन र इतर दुवै समुहमा रहेका नेताहरुले पार्टीलाई एक बनाएर लैजानुपर्ने कुरामा जोड दिंदै आएको भएपनि दुवैतर्फका नेताहरुले अर्को समुहका गतिबिधिका कारण पार्टी बिभाजन तर्फ उन्मुख देखिएको भन्दै एकापसमा आरोप प्रत्यारोपमा उत्रिने क्रमलाई पनि निरन्तरता दिइरहेका छन ।
पछिल्लो समय पार्टीमा संस्थापन अर्थात थापाको नेतृत्वमा प्रदेशस्तरमा जरा अभियानको नाममा बिभिन्न किसिमका भेला र कार्यक्रम हुन थालेपछि संस्थापन इतर समूह निबर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको समुहले पनि प्रदेशस्तरमा बिभिन्न गतिविधिहरु संचालन गरिरहेको छ। यसक्रममा खड्का समुहले कोशी, बागमती र कर्णालीमा बिशेष भेलाहरु सम्पन्न गरिसकेकोमा बागमती र कर्णाली प्रदेशस्तरीय भेलामा पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थितिका कारण खड्का समूह उत्साहित बनेको बताइन्छ।
पार्टीको संस्थापन समूहले गर्दै आएका प्रदेशस्तरीय भेलामा सभापति थापा सहित उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्रीसहितका पदाधिकारीहरु अनुकुल ठाउँमा पुगेर सम्बोधन गर्ने गरेको छन। पोखरामा अघिल्लो बिहिबार आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा पनि सभापति थापा सहित उपसभापति शर्मा, महामन्त्री गुरुराज घिमिरे र प्रबक्ता देबराज चालिसे लगायतका नेताहरुले पार्टीभित्रको बिबाद र असन्तुष्टिको बारेमा आआफ्नो भनाई राखेका थिए।
गण्डकी प्रदेशस्तरीय भेला र लगत्तै धुलिखेलमा आयोजित बागमती प्रदेश स्तरीय भेलामा सभापति थापाको भनाई केहि सन्तुलित र परिपक्व देखिएको भएपनि अन्य पदाधिकारीहरु भने असन्तुष्ट पक्षप्रति निकै आक्रोशित देखिएको कतिपय कांग्रेस कार्यकर्ताहरुको भनाई छ। सभापति थापाको भनाई पछिल्लो समय केहि सन्तुलित देखिएको कारण पार्टी विभाजन हुनबाट रोक्ने चाहना सभापति थापाको समेत रहेको बताइन्छ। तर कार्यसमितिका केहि पदाधिकारी र सदस्यहरु भने सबै नेताहरु मिलेमा आँफुहरुको पद धरापमा पर्ने डरका कारण बृहत एकताको पक्षमा नरहेको अनुमान कतिपयको छ।
पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीमा सम्पूर्ण एकताको खाँचो औंल्याउँदा समेत उनिमाथि प्रबक्ता चालिसे र महामन्त्री घिमिरेसमेतका बक्ताहरुले आक्रोश पोखेका थिए। जब कि सभापति थापाले पार्टीको बिधानको परिधि भित्र रहेर सबैलाई समेट्न आँफु तयार रहेको प्रतिबद्दता ब्यक्त गरेका थिए धुलिखेलमा पुगेर सभापति थापाले १४ औं महाधिबेशनबाट निर्बाचित अग्रज नेताहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिन आँफु तयार रहेको अभिव्यक्ति दिएको कारण सभापति थापा केहि लचिलो बनेको महशुश गर्न थालिएको छ।
यता निर्बाचन आयोग र अदालतमा समेत आँफुहरु नै आधिकारिक भएको दाबी गर्न पुगेको खड्का समूह पनि अहिले महाधिबेशन आयोजक समिति बनाएर अगाडी बढ्ने हो भने पार्टीभित्र मिलेर जाने पक्षमा रहेको अनुमान गरिएको छ। यसबाहेक नेता डा. शेखर कोइरालाको समूह पनि महाधिबेशन आयोजक समिति बनाएर १५ औं महाधिबेशनको तयारीमा जुट्नुपर्ने बिषयमा तयार हुन् सक्ने बताइन्छ।
पार्टीमा संस्थापन पक्ष र संस्थापन इतरको रुपमा खड्का र कोइराला समूह अस्तित्वमा देखिनु र उनीहरुले आयोजना गर्ने भेलामा पनि कार्यकर्ताको उपस्थिति उल्लेखनीय देखिनुले आम कार्यकर्ताहरु पार्टी विभाजन भन्दा एकताको पक्षमा रहेको बुझ्न सकिन्छ। तर संस्थापन र इतर पक्षबीच सम्बाद र समन्वय हुन् नसकेमा कतै पार्टी बिभाजन हुने त हैन भन्ने चिन्तामा समेत कार्यकर्ता देखिएका छन। कांग्रेस विभाजित हुन् पुगेमा आसन्न स्थानीय एबम प्रदेशको चुनाबमा कांग्रेसको अबस्था अझै खस्किने कतिपयको भनाई छ।
यसैबीच संस्थापन इतर समूह मध्ये खड्का समूहले प्रदेशस्तरमा गरेका कार्यक्रममा सम्बन्धित प्रदेशका नेताहरु सहभागी बन्ने गरेका छन खड्का समुहले पोखरामा आउँदो शनिबार अर्थात जेष्ठ ९ गते गण्डकी प्रदेशस्तरीय भेलाको आयोजना गरेको छ। पोखराको सृजनाचोकमा हुने भेलाको संयोजनको औपचारिक जिम्मेवारी पार्टीको गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठलाई दिईएको भनिएपनि गण्डकीका मुख्यमन्त्री समेत रहेका १४ औं महाधिबेशनका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, पुर्वमन्त्री एबम पुर्व केन्द्रीय सदस्य शंकर भण्डारी, पुर्व केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, गुरु बराल, पुष्पराज पराजुली लगायतका नेताहरु भेला सफल पार्न सक्रियता पुर्वक लागेको बताइएको छ।
पार्टीका निबर्तमान केन्द्रीय सदस्य पुष्पराज पराजुली समेत पोखरामा बसेर शनिबारको भेलाको तयारीमा जुटेका छन। उनले मंगलवार पनि पोखरामा संस्थापन इतर समुहका नेता कार्यकर्ता सहित अन्यसंग भेटघाट गरेर शनिबारको भेलाको बारेमा जानकारी गराएको बताए। ‘मंगलवार पोखरामा निबर्तमान केन्द्रिय सदस्यहरु शारदा पौडेल र गुरु बराल, मेखलाल श्रेष्ठ. कास्कीका नेताहरु ऋषिराम काफ्ले, गणेशबहादुर भट्टराई लगायतका साथीहरुसंग भेटघाट एबम तयारी बैठक बसियो’ पराजुलीले गुरुकुल खबरसंग भने।
शनिबार हुने कार्यक्रममा गण्डकी प्रदेशका अग्रज नेता एबम पुर्व महामन्त्री डा. शसांक कोइरालाको साथै पुर्व केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर भण्डारी, गोबिन्द भट्टराई, गुरु बराल, सरस्वती अर्याल तिवारी, किरण शर्मा पौडेल, शारदा पौडेल, सिता देवकोटा, पुष्पराज पराजुली लागयत करिब एक दर्जन पुर्व केन्द्रीय सदस्यहरु सहित बिभिन्न जिल्लाबाट नेता र कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहने बिश्वास आयोजकले गरेका छन।
काठमाडौँमा सम्पर्क कार्यालय स्थापना
यसैबीच, निबर्तमान केन्द्रीय सदस्य गुरु बरालले गुरुकुल खबरसंग कुरा गर्दै पार्टीलाई बिभाजनबाट जोगाउँदै बृहत एकता कायम गर्न तथा एकताबद्द र संगठित कांग्रेस बनाएर आगामी निर्बाचनमा प्रमुख पार्टी बनाउने उद्देश्यका साथ भेलाहरु आयोजना गरिएको बताए। बरालले काठमाडौँमा साथीहरुबीच छलफल गर्नको लागि बैशाख महिनामा नै सम्पर्क कार्यालय स्थापना गरिएको भएपनि समुहको गतिविधिमा तिब्रता आएपछि हालैमात्र सम्पर्क कार्यालय खोलिएको भनि प्रचार भएको समेत स्पष्ट पारे। पार्टी एकताको लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारी गर्न कार्यालय स्थापना गरिएको हो। ‘ उनले भने।

नेता बरालसहित, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा अघिल्लो महिना अनामनगरमा सम्पर्क कार्यालय खुलेको बताइएको छ । बरालसहित बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य भने शेरचन बागलुङ कांग्रेसका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको जिम्मेवारीमा छन । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना भएको बताउँछन् । उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’
सम्पर्क कार्यालयमा चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको बताइएको छ ।














