Play

दशौँ पोखरा स्पोर्टस अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका पांच खेलाडी को हुन ?

गुरुकुल खबर


पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । मञ्चले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ ।  जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका छन् । सर्वाधिक भोट ल्याउनेमध्ये एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् ।

दीप कार्की (फुटबल)

दीप कार्की लिडिङ, सेभिङ तथा पेनाल्टी गरी टिममा सबै पक्ष राम्रो भएका खेलाडी हुन् । दोलखा जिल्लाको बोथ गाउँमा जन्मिएका कार्की ६ महिनाकै हुँदादेखि पोखरा आएका हुन् । हाल पोखरा बगर निवासी उनी २८ वर्ष भए । सुरुआतमा उनी कास्की लिग खेले । बिस्तारै विभिन्न प्रतियोगितामा सफलता हात पर्दै गए पछि सन् २०१९ मा राष्ट्रिय टिममा पर्न सफल भए । सन् २०२२ मा त उनले कुवेतमा भएको एशियन क्वालीफायर्समा डेब्यू नै खेले ।

गत वर्ष काठमाडौंमा सम्पन्न सभापति कप संकटा क्लबबाट खेल्दा उनी बेस्ट फ्लेयर हुन सफल भए । सन् २०१९ को सहिद स्मारक ए डिभिजन लिगमा मनाङबाट खेल्दा उनी उत्कृष्ट गोलकीपर घोषित भएका थिए । सन् २०२३ मा हेटौडा गोल्डकपमा बेस्ट प्लेयर हुँदै बुलेट मोटरसाइकल चढेका थिए । विभिन्न क्लबबाट खेलिसकेका उनी धेरैजसो चर्च ब्वाइजबाट खेलेको बताउँछन् । गत वर्ष उनी २५ औं संस्करणको आहारारा पोखरा गोल्डकप खेल्दा चर्च ब्वाइजबाट कीपर थिए ।

नारायणी भण्डारी

गत जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन । भाग लिएका हरेकजसो प्रतियोगितामा उनलले कुनै न कुनै पदक नजिती फर्किन्नन् ।   १५ औं राष्ट्रपति रनिङ शिल्डमा उनले २८ वर्षअघिको रेकर्ड तोडेर चर्चामा आएकी थिइन् । ८०० मिटर दौड २ मिनेट १७ सेकेण्ड ९ मिली सेकेण्डमा पूरा गर्न उनि सफल भइन् । त्यसअघिको टीका चौधरीको नाममा २ मिनेट २८ सेकेण्ड ९ मिलीसेकेण्डको रेकर्ड थियो । सोही प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक हासिल गरेकी थिइन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीले उनको यो उपलब्धिको कदर गर्दै वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा नगद ४३ हजारसहित पुरस्कृतसमेत गरेको थियो । पोखरा ओपन नेशनल एथलटिक्स मिट–२०२५ मा उनी १५०० मिटर दौडमा समेत सिनियर नेशनल च्याम्पियन बन्न सफल भएकी थिइन् । छोरेपाटन स्कुलकी यी छात्रा नारायणी यसबर्ष कक्षा १२ को परीक्षा दिएकी छन । पोखरा स्पोर्टस् अवार्डको पिपल च्वाइस अवार्डमा मनोनयनमा परेपछि खुसी हुँदै उनी भन्छिन्, ‘नयाँ अपरच्यूनिटी पाइयो । यसले हामीलाई अझ हौसला दिन्छ । खेलाडीको मनोबल बढ्दै जाँदा अरु खेलाडीहरु पनि उत्पादन हुँदै जान्छन् ।’

राजन दर्लामी (भलिबल)

राजन दर्लामी मगर १३ वर्षको उमेरदेखि नै भलिबल खेलिरहेका छन् । स्याङ्जाको चापाकोट ५, सेखामका यी लिबेरोले हालै छैटौं संस्करणको टाइगर कप भबिबल प्रतियोगिता र नवलपुरमा भएको दोस्रो संस्करणको जिएम कपमा टिमलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । जिएम कपमा त उनलाई बेस्ट डिफेन्डरको उपाधि दिइएको थियो । रुकुमको टकसेरामा गत वर्षको ३० औं वार्षिक राष्ट्रिय भलिबलमा पनि उनको टिम तेस्रो हुन सफल भएको थियो । उनले हालै सम्पन्न पिएम कप एनभिए भलिबल लिगमा बेस्ट डिफेन्डरको उपाधि जितेका थिए ।

त्यसअघि, २०७७ सालको टाइगर कप होस् वा ०७३ सालको काठमाडौंमा सम्पन्न नयाँबजार राष्ट्रिय च्याम्पियनसिपमा पनि सोही उपाधि हात पारेका थिए । २०६२/६३ सालयता विभिन्न ठाउँ पुगेर उनले थुप्रै प्रतियोगितामा भाग लिएको अनुभव सुनाउँछन् । उनी सम्मिलित रुकुम भलिबल टिम फेरि विदेशमा काभा खेल्न जाँदैछ । उनी भन्छन्, पिपल च्वाइस अवार्डमा पर्नु मेरो लागि सफलता हो । नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सम्पूर्ण संघसंस्था तथा सरकारी पक्षबाट सहयोग हुनुपर्छ ।’ आफ्नो सबै रहर सबै कुरा त्यागेर खेलिरहेको छु, राज्यको लागि खेल्ने खेलाडीहरुका लागि केही न केही राहत होस् ।’

विपीन खत्री (क्रिकेट)

लेफ्टआर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिन विगत १५ वर्षदेखि क्रिकेट खेलिरहेका छन् । विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा छनोटपछि त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । २८ वर्षीय खत्रीले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानी सम्हालिसकेका छन् । उनी हाल काठमाडौंमा नेपाल ए टिमबाट स्कटल्याण्ड र युएसएसँगको सिरिज खेलिरहेका छन् । उनी सम्मिलित नेपाल ए ले स्कटल्याण्ड र युएसएसँग एक एक जित हात पारिसकेको छ ।

विगतमा धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उनी उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उनकै पोल्टामा परेको थियो । विपीन आफूलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको बताउँछन् । प्रधानमन्त्री कपदेखि इपिएल, डिपीएल र पिपिएलमा खेलिसकेका उनी पाँचौ संस्करणको स्पोर्टस् अवार्डमा उदीयमान विधामा पौडीकी डुवाना लामा र टेनिसका प्रदीप खड्कासँग प्रतिस्पर्धामा थिए । पोखरा स्पोर्टस् अवार्डमा दोस्रोपल्ट मनोनयन परेकामा निकै खुसी लागेको उनको प्रतिक्रिया छ ।

सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो/मुआथाई)

२०६० सालमा बागलुङको बडिगाड गाउँपालिका १० मा जन्मिएकी सुस्मिता थापामगर आएटीएफ तेक्वान्दो र मुवाथाई दुबैको राम्रो प्लेयर हुन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी उनले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् । विश्व मुआथाई परिषद् (डब्लुबिसी) को महिला र्यांकिङमा सूचिकृत हुन सफल नेपाली खेलाडी सुस्मिताले यसअघि नेपालमा भएका तीनवटा ठूला प्रतियोगिताहरु जितेर चर्चा बटुलेकी थिइन् ।

कक्षा ६ पढ्दा भलिबल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जिते पनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको भानु निमाविमा रवीन्द्र बुढामगरले आईटीएफ तेक्वान्दो डोजाङ सञ्चालन गरेपछि तेक्वान्दोमा आकर्षित भएको बताउँछिन् । खेलमा राम्रो गर्दै आएकै कारण उनी अघिल्लो वर्ष नेपाल तेक्वान्दो महासंघबाट उत्कृष्ट खेलाडीसमेत घोषित भएकी थिइन् । पोखरा स्पोर्टस् अवार्डमा धेरैजसो मनोनयनमा पर्दै आएकी उनी यसपटक पुनः पिपुल्स च्वाइसको मनोनयनमा पर्न सफल भएकी छन् ।

२८ बैशाख २०८३, सोमबार ०८:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा