पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोर्ट्स अवार्डको ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको बिचमा प्रतिष्पर्धा हुने भएको हो । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् ।
रेखमाया प्रदेशको नतिजा सुधार्न प्रयासरत छन् भने कुमार अन्तर्राष्ट्रिय अनुभवलाई पोखराको टेनिस कोर्टमा प्रयोग गर्दैछन् । उता, सिद्धान्त वैज्ञानिक पद्धतिमार्फत एथ्लेटिक्समा नयाँ क्रान्ति ल्याउन तल्लीन छन् । अनुभव, समर्पण र व्यावसायिकताको यो त्रिकोणात्मक भिडन्तले अवार्डको गरिमा मात्र बढाएको छैन, खेलाडीबाट प्रशिक्षक बनेकाहरुको योगदानलाई समेत विशेष सम्मान दिएको छ । उनीहरुको आ–आफ्नै परिचय र विशेषता छन् ।
रेखमाया गुरुङ – तेक्वान्दो
तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेखमाया गुरुङ १० औँ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेकी छन् । खेलाडीका रूपमा थुप्रै सफलता हात पारेकी उनले सन् २०१५ देखि प्रशिक्षकको रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेकी रेखमाया प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । उनी कास्की जिल्ला तेक्वान्दो संघको सदस्यका रूपमा लामो समय काम गरेपछि हाल प्रदेश तेक्वान्दो संघको सदस्यका रूपमा सक्रिय छिन् ।

खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै उनलाई केही दिन अघि गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विधाबाट युवा प्रतिभा सम्मानबाट सम्मान गरेका थियो । साथै जिल्ला र प्रदेश तेक्वान्दो संघहरूले विभिन्न समयमा सम्मानित गरिसकेका छिन् । गण्डकी प्रदेशका खेलाडीहरूले राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरूमा स्वर्ण पदक जितोस् भन्ने उनको मुख्य चाहना छ । हाल गण्डकीको नतिजा प्रायः दोस्रो स्थानमा मात्रै सीमित हुने गरेकाले यसलाई सुधार गर्दै आफ्ना उत्पादनहरूलाई राष्ट्रिय स्तरमा स्वर्ण पदक दिलाउन निरन्तर लागिपरेको उनले बताइन् ।
कुमार अधिकारी – टेनिस
कास्कीमा जन्मिएर नेपाली टेनिसको क्षेत्रमा चम्किएका कुमार अधिकारी यतिबेला आफ्नो खेल कौशल र अनुभवलाई अन्तर्राष्ट्रियस्तरमा बाँडिरहेका छन् । कुनै समय नेपालको शीर्ष वरीयतामा रहेका अधिकारीले खेलाडीका रूपमा मात्र नभई प्रशिक्षकका रूपमा पनि आफूलाई अब्बल सावित गरेका छन् । अधिकारीका लागि टेनिसको प्रेरणा आफ्नै बुवा दुर्गा अधिकारीबाट प्राप्त भएको थियो । बुवा टेनिस कोर्ट बनाउने काम गर्थे, त्यहीँबाट उनले १४ वर्षको उमेरमा वि.सं. २०५५ सालदेखि र्याकेट समाउन सुरु गरेका थिए ।

खेलाडी जीवनका थुप्रै उतारचढावबीच अधिकारीले सातौँ राष्ट्रिय खेलकुदमा तत्कालिन पश्चिमाञ्चलका लागि एकल विधामा स्वर्ण पदक जितेका थिए । उनले चीनको ग्वान्जाउमा आयोजना भएको एशियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका थिए । काठमाडौंमा अमेरिकन राजदूतावासको फोहोरा दरबार कोर्टमा ५ वर्षसम्म प्रशिक्षणको अनुभव बटुलेपछि उनी सन् २०१७ मा माल्दिभ्स पुगेका थिए। सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औँ एशियन गेम्समा उनले माल्दिभ्सको टेनिस टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रशिक्षण क्षमता प्रदर्शन गरे । सन् २०१७ जुनदेखि २०२० डिसेम्बरसम्म माल्दिभ्समा बिताएपछि नेपाल फर्केकी उनि हाल गण्डकी प्रदेश तथा कास्की जिल्ला टेनिस संघसँग समन्वय गरेर नयाँ खेलाडी उत्पादनमा जुटेका छन् । पोखरा स्पोट्र्स अवार्डमा ‘उत्कृष्ट खेलाडी’ को अवार्ड जितिसकेका अधिकारी यो पटक उत्कृष्ट प्रशिक्षकको आवार्डका लागि रेसमा छन् ।
सिद्धान्त अधिकारी – एथ्लेटिक्स
पोखराका ३६ वर्षीय सिद्धान्त अधिकारी पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । लामो समयदेखि खेलकुदमा होमिएका अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । पोखरा–२६, बुढीबजारका अधिकारीले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए । नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर ‘आर्मी स्पोट्र्स इन्स्टिच्युट’ (एएसआई) बाट ‘स्पोट्र्स साइन्स’ मा डिप्लोमा गरे । एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनले यहाँको एथलेटिक्स क्षेत्रमा व्यवस्थित प्रशिक्षणको अभाव महसुस गरी वैज्ञानिक पद्धतिबाट खेलाडी तयार पार्नेअठोट गरे । सोही लक्ष्यका साथ उनले सन् २०२१ तिर सुनिल राजवंशीसँग मिलेर ‘हिमालयन एलिट्स रन’ प्रोजेक्ट सुरु गरे । यस प्रोजेक्टमार्फत उनले खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँदै आएका छन् । नारायणी भण्डारी, बादल कार्की, अनुष्का अधिकारीलगायत उदीयमान खेलाडी उनकै प्रशिक्षणमा अघि बढिरहेका छन् । कास्की जिल्ला एथलेटिक्स संघको सचिव रहेको उनको अवधारणा र संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट र पोखरा १० के जस्ता प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । यसअघि पल्सर स्पोट्र्स अवार्डको युवा विधामा मनोनयनमा परिसकेका अधिकारी अहिले उत्कृष्ट प्रशिक्षकको होडमा उभिएका छन् ।














