Play

ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने

गुरुकुल खबर


पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्लेगाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याए बापत यो सम्मान पाउन लागेका हुन् ।

गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे । बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो ।

विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए । उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुम्न सफल भए ।

अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र अस्ट्रेलिया जस्ता देश पुगेका बोगटीले सन् १९८९ मा जर्मनीबाट तीन हप्ताको कोचिङ कोर्स समेत पूरा गरेका थिए । खेलका क्रममा उनले अनेकौँ उतारचढाव र अभावहरू भोगे । आमाको निधन हुँदाको मर्माहत पीडामा समेत उनले खेललाई निरन्तरता दिएको स्मरण गरे । खेल जीवनमा प्राप्त सफलताकै कारण उनलाई तत्कालीन सरकारले ’गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित गरेको थियो । तत्कालीन समयमा अहिलेको जस्तो सेवा सुविधा नभए पनि दृढ संकल्पका साथ आफू खेलमा लागिरहेको उनले बताए ।

हाल ६४ वर्षको उमेरमा पुगेका बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन् । खेलबाट सक्रिय विश्राम लिएपछि उनी अहिले गोरखाको आफ्नै माटोमा कृषि कर्ममा रमाइरहेका छन् । खेतीपातीसँगै उनले नयाँ पुस्तालाई एथ्लेटिक्सको ज्ञान र अनुशासन सिकाउने गुरुको जिम्मेवारी समेत निभाइरहेका छन् । गाउँको विकास निर्माण र सामाजिक संघसंस्थामा स्वयंसेवकको भूमिकामा सक्रिय बोगटीले समाज सेवालाई पनि उत्तिकै महत्व दिएका छन् । एउटा सफल धावकदेखि कर्मशील किसानसम्मको उनको यो प्रेरक यात्रालाई सम्मान गर्दै प्रदान गर्न लागिएको यो अवार्डलाई नेपाली खेलकुदको सुनौलो इतिहासको सम्मानका रूपमा हेरिएको छ ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको उक्त अवार्ड कार्यक्रममा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार  रहेका छन।

२८ बैशाख २०८३, सोमबार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा