पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ आंफ्नो सातौँ राष्ट्रिय महाधिबेशनमा जुटेको छ । महासंघको महाधिबेशन यहि बैशाख २७ गते आइतबार देखि २९ गते मंगलबारसम्म पोखरामा हुने भएको छ । पोखरामा हुने महाधिबेशनमा यातायात ब्यबसायीसंग सम्बन्धित संस्थाबाट दुई हजार बढी महाधिबेशन प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहेको रहने बताइएको छ ।
सार्बजनिक यातायातको रुपमा रहेका यात्रुबाहक बस, मालबाहक ट्रक, मिनी बस, ट्याक्सी, माइक्रो लगायत सात किसिमका सार्बजनिक यातायातका साधनहरुसंग सम्बन्धित संघ, समिति, कम्पनि, प्रालि, पर्यटन एबम सहकारीसहित करिब ३ सय ८७ वटा संस्थाबाट यातायात ब्यबसायी राष्ट्रिय महासंघमा प्रतिनिधित्व रहेको र ति संस्थाहरुबाट महाधिबेशनमा सहभागिता रहने छ।
महाधिबेशनको कार्यक्रम अन्तर्गत २७ गते उद्घाटन समारोह र २८ गते बन्द सत्र हुनेछ भने २९ गते नयाँ नेतृत्वसहित कार्यसमितिको लागि निर्बाचन कार्यक्रम हुने भएको छ । महाधिबेशनमा दुईहजार जति प्रतिनिधि र पर्यबेक्षकको साथै महाधिबेशन हेर्न आउने सहित देशभरका करिब १० हजार यातायात ब्यबसायी पोखरा आउने भएकोले यसलाई यातायात ब्यबसायीहरुको कुम्भमेलाको रुपमा समेत लिईएको छ।
महाधिबेशनका कारण पोखरामा १० हजार बढी पाहुना आउने
महाधिबेशनमा सहभागि हुने प्रतिनिधि मात्र नभएर उनीहरुका परिवारका सदस्य, बिभिन्न महासंघबाट आंफुले समर्थन गर्ने उमेदवारलाई बिजयी बनाउन आउनेहरु समेत गर्दा पोखरामा १०/१२ हजार जना पाहुना भित्रिने अबस्था रहेको पोखराका अग्रज यातायात ब्यबसायी केशब अधिकारीले बताए।
यातायात ब्यबसायी अधिकारीले गुरुकुल खबरसंग भने, ‘पोखरामा यातायात व्यवसायीको ठुलो जमघटलाई ब्यबस्थित गर्न, सवारी साधनका कारण पोखराको सडक अस्तव्यस्त हुन् नदिन र पोखरा आउने पाहुनाहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउन यातायात ब्यबसायी साथीहरु प्रतिबद्दताका साथ लागेका छौं। यसका लागि पोखराको लेकसाइडबाट कार्यक्रमस्थल बुलौदीसम्म विधुतीय निशुल्क शटल बस संचालन गर्ने र ५०/६० जना युवा यातायात ब्यबसायीहरुको स्वयंसेवी दस्ता तयार गरिनेछ।’
अधिकारीका अनुसार केन्द्रीय समितिमा लामो बहसपछि मात्र महाधिबेशन पोखरामा गर्ने भनेर टुंगो लागेको कारण पनि पोखरा महाधिबेशनलाई भव्यतापुर्वक सम्पन्न गर्नुपर्ने दायित्व आँफुहरुमा रहेको स्पष्ट पारे । महाधिबेशन सम्पन्न गर्न ऐनकुमार साई, केशबप्रसाद अधिकारी र केदार पौडेलको संयोजकत्वमा मूल आयोजक समिति र बिभिन्न १५/१६ वटा उपसमितिहरु गठन गरेर तयारी अगाडी बढाईएको बुझिएको छ।
महासंघको नेतृत्वका लागि सिटौला र केसीबीच प्रतिष्पर्धा हुने सम्भावना
यसपटक पोखरामा हुने महाधिबेशनबाट महासंघको नेतृत्व लिनको लागि हालका तिन जना बरिष्ठ उपाध्यक्षहरु ऐन कुमार साई, सरोज सिटौला र हरिशरण केसीको बिचमा प्रतिष्पर्धा हुने अनुमान गरिएको भएपनि साईले भने आँफु उमेदवार नबन्ने जानकारी गराएका छन। जसका कारण अबको प्रतिष्पर्धा सिटौला र केसीको बिचमा हुनसक्ने अनुमान गरिएको छ। उनीहरु दुबैजना नेपाली कांग्रेस निकट ब्यबसायी रहेको बताइन्छ ।
समितिमा एकजना अध्यक्ष, तीनजना बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिब, ३ जना उपमहासचिब, ३ जना सचिब, १ जना कोषाध्यक्ष र १ जना सहकोषाध्यक्ष गरि २० जना पदाधिकारी रहने ब्यबस्था छ।
महाधिबेशनबाट ७८ सदस्यीय कार्यसमिति निर्बाचित हुने, पोखराबाट को को चुनाब लड्दैछन ?
यसबाहेक कार्यसमितिमा बिभिन्न बर्गीय संगठनहरुबाट १/१ जना प्रतिनिधि सहित ७८ सदस्यीय कार्यसमिति निर्बाचित हुने र थप केहि सदस्य पछि मनोनयन गर्ने ब्यबस्था रहेको महासंघका सचिब योगेन्द्र केसीले गुरुकुल खबरलाई जानकारी दिए। मतदानका लागि ४० वटा बिधुतिय भोटिंग मेसिन प्रयोग गरिने भएको छ।
अब बन्ने कार्यसमितिमा अध्यक्ष पदमा सिटौला र केसीको प्रतिष्पर्धा हुने सम्भावनासंगै बरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार साई र केदार पौडेलको बिचमा प्रतिष्पर्धा हुन सक्ने अनुमान गरिएको छ। पोखरा बाहिरबाट पनि अन्य कोहिले उमेदवारी दिएमा प्रतिष्पर्धीहरुको संख्या बढ्नसक्ने सम्भावना छ।

यसबाहेक पोखराबाट कार्यसमितिको उपाध्यक्षमा योगेन्द्र केसी, उपमहसचिबमा भानुभक्त बराल र सचिबमा उमेश केसीले पनि चुनाबी प्रतिष्पर्धामा जाने सोच बनाएको बुझिएको छ यसका साथै कार्यसमितिको सदस्य पदका लागि पोखरा क्षेत्रका अन्य यातायात ब्यबसायीहरु पनि इछ्यूक रहेको बताइन्छ ।
९ लाखलाई रोजगारी दिएको र १० अर्ब बढी लगानी भएको यातायात ब्यबसाय संकटमा
हाल नेपालमा ३ लाख भन्दा बढी सार्बजनिक यातायातका साधनहरु रहेको र एउटा सवारी साधनको कारण ३ जनालाई प्रत्यक्ष रोजगारी मिलेको अनुमान गर्ने हो भनेपनि देशभरका ९ लाखलाई सार्बजनिक यातयात ब्यबसायीहरुले रोजगारी दिएको मान्न सकिन्छ। यातायात ब्यबसायमा लगानी समेत थप हुँदै गएपछि अहिले १० अर्ब भन्दा बढीको लगानी यस क्षेत्रमा भएको यातायात ब्यबसायी योगेन्द्र केसीको भनाई छ।
‘लगानी पनि थप हुँदै जाने, आन्तरिक प्रतिष्पर्धा पनि बढ्दै जाने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि भैरहेपनि सरकारले मूल्य समायोजन नगरिदिंदा यातायात ब्यबसायीहरुले लगानी गरे अनुसारको प्रतिफल भने पाउन सकेको छैनन र अधिकांश ब्यबसायीहरु संकटमा परेको छन।’ केसीले गुरुकुल खबरसंग भने।
राष्ट्रिय यातायात ब्यबसायी महासंघका सचिब भानुभक्त बरालका अनुसार यस्तो अबस्थामा पोखरामा हुने महाधिबेशनले यातायात व्यवसायीको लगानी सुरक्षित गर्न, दूर्घटना न्यूनीकरणको लागि सडक पुर्वाधार एबम ट्राफिक लाइट र अन्य ऐन नियम यातायात ब्यबसायी मैत्री बनाएर व्यवसायीको लगानी सुरक्षित गर्न महाधिबेशनले विभिन्न प्रस्ताबहरु पारित गर्ने र सरकारसंग सबै किसिमका समस्या समाधानको लागि लबिंग गर्नेछ।
महासंघको महाधिबेशनको बारेमा जानकारी दिन पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघको गण्डकी प्रदेशका संयोजक केदार पौडेल, महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, सचिब भानुभक्त बराल, योगेन्द्र केसी र अग्रज यातायात ब्यबसायी केशवप्रसाद अधिकारी लगायतले देशभरका यातायात ब्यबसायीको छाता संस्थाको रुपमा रहेको महासंघको महाधिबेशन भव्यताका साथ सम्पन्न गर्नुपर्ने कुरामा जोड दिए । उनीहरुले महाधिबेशनका कारण पोखराको पर्यटन प्रबर्द्दनमा समेत सघाउ पुग्ने भएकोले सबै पोखरेलीहरुको रचनात्मक सहयोगको अपेक्षा गरे ।











