पोखरा, बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा ल्याएसंगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न नौ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त भएका छन्। संचार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालय अन्तर्गतका विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, आयोग तथा समितिका पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन्। अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम ती निकायमा कार्यरत अध्यक्ष, सदस्य तथा कार्यकारी पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी पदमुक्त भएका छन्। यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यसहित सदस्यहरू पदमराज जोशी, भीमलाल श्रेष्ठ, शन्तराम विडारी, कुमारी निमा काफ्ले, रामप्रसाद दहाल, विजयराज अधिकारी, बालकृष्ण अधिकारी, केशवशरण लामिछाने र नकुल अर्याल पदमुक्त भएका छन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रवीन्द्र झा र गोकर्णप्रसाद सिटौला पनि पदमुक्त हुनेमा परेका छन्।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं तथा सदस्यहरू पवन अधिकारी, प्रेमबहादुर भट्टराई र मोहन गुरुङ, सुरक्षण मुद्रण केन्द्रका सदस्य आदित्य न्यौपाने र कार्यकारी निर्देशक देवराज ढुङ्गानाको साथै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्ट तथा सदस्यहरू अनिता गुरुङ, फूलमान बल र भूमिराज चापागाईं पनि पदमुक्त भएका छन्।
यसैगरी, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्य तथा सूचना आयुक्तहरू दुर्गा भण्डारी पौडेल र गगन विष्ट पनि पदमुक्त भएका छन्।चलचित्र जाँच समितिका सदस्यहरू सम्पन्न श्रेष्ठ, कुवेरराज गिरी र भगवतीकुमारी मैनाली उप्रेती (भीमा), न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का तथा सदस्यहरू नवीनराज कुइँकेल, वासुदेव मिश्र र जमुना शर्मा पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
पदमुक्त हुनेहरुमध्ये प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बासुदेव मिश्र र जमुना शर्मा बर्षा, राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पोखरामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील मध्येका हुन। उनीहरुलाई तत्कालिन केपी ओली नेतृत्वको सरकार रहेको समयमा बिभिन्न पदमा नियुक्त भएर काम गरिरहेका थिए।















