पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा कास्की क्षेत्र न ३ अन्तर्गतको प्रदेशबाट निर्बाचित सांसद प्रकाश बराललाई नियुक्त गरेका छन् । संसदीय दलका नेता पाण्डेले मंगलबार बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । यसअघि बराल सचेतकका रूपमा कार्यरत थिए ।
यस अगाडी प्रमुख सचेतकमा मुख्यमन्त्री पाण्डेको गृह जिल्ला गोर्खाबाट प्रदेश सांसद बनेका नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक बनाएकोमा केहि दिन अगाडी न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका थिए। मुख्य मन्त्री पाण्डेले जिल्लाबासी न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेपछि रिक्त रहेको प्रमुख सचेतकमा कास्कीका बराललाई नियुक्त गरेका हुन ।
मुख्यमन्त्री पाण्डेले प्रदेशमा मन्त्रीहरुको संख्या घटाउनुपर्ने आवाज उठिरहेको बेला पार्टीका केन्द्रीय नेताहरुसनाग समेत सम्पर्क नगरिकन मन्त्रीमण्डल पुनर्गठन गरेको चर्चा चलेको थियो ।
उनले पार्टीको बिशेष महाधिबेशनबाट सभापति बनेका गगन कुमार थापा निकट मानिएका न्यौपानेलाई प्रमुख सचेतकबाट मन्त्री बनाउनु र थापाको निकट भनिने बराललाई सचेतकबाट प्रमुख सचेतक बनाएको भन्दै मुख्यमन्त्री पाण्डेले आंफ्नो पद जोगाउन थापाको इशारामा काम गरेको आरोप समेत लगाउन थालेका छन ।
मुख्यमन्त्री पाण्डेले दलको सचेतकबाट बराललाई बढुवा गर्दै प्रमुख सचेतकको जिम्मेवारी दिएको भएपनि सचेतक पदमा भने कसैलाई पनि नियुक्त गरेको छैनन । उनले दलको सचेतकको जिम्मेवारी कसलाई देलान भन्ने प्रश्न धेरैले गरिरहेका छन । पछिल्लो समय मुख्यमन्त्री पाण्डेको कार्यशैलीलाई लिएर बिभिन्न क्षेत्र र पार्टी भित्रबाट समेत आलोचना गर्ने क्रम पनि भएको छ ।
मुख्यमन्त्री रहेका कांग्रेस संसदीय दलका नेताद्वारा प्रदेश सभाको पुरानो लोगो प्रयोग
यसैबीच, गण्डकी प्रदेश सभाले २०८० सालमै नयाँ लोगो स्वीकृत गरेर कार्यान्वयनमा ल्याए पनि नेपाली कांग्रेस संसदीय दलका नेता एबम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने संसदीय दल भित्र त्यसलाई अझै प्रयोगमा नल्याएको भन्दै आलोचना शुरु भएको छ। प्रदेश सभा आफैले पारित गरेको नयाँ लोगोलाई बेवास्ता गर्दै कांग्रेसले आफ्ना औपचारिक पत्राचारमा अझै पनि पुरानै लोगो अंकित लेटरप्याड प्रयोग गरिरहेको भन्दै आलोचना बढेको हो ।
पाण्डेले मंगलबार प्रकाश बराललाई प्रमुख सचेतकमा नियुक्त गर्दा पुरानै लोगोसहितको लेटरप्याड प्रयोग गरेका छन । यसअघि प्रदेश सभाले आफ्ना सबै अंग र दलका कार्यालयहरुमा नयाँ लोगो प्रयोग गर्न सूचित गरे पनि कांग्रेसले त्यसलाई कार्यान्वयनमा नल्याउनु र प्रदेशसभाबाट पारित भएको लोगोको प्रयोगमा मुख्यमन्त्री नै रहेका कांग्रेस संसदीय दलका नेताले बेवास्ता गर्दा सबैमाझ अन्योल बढेको बताइएको छ ।













