पोखरा, गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरिएको पोखरामा भाट–भटेनी सुपर मार्केट सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त घटनामा पोखराको भाट भटेनी सहित मुलुकका बिभिन्न स्थानका भाटभटेनी स्टोरहरूमा आगजनी तोडफोड र लुटपाट गरिएको थियो त्यसपछि क्रमश भाटभटेनीले आँफ्नो सुपर मार्केटहरु मर्मत गरेर पुन संचालनमा ल्याउने क्रमलाई तिब्रता दिईरहेको छ ।
पोखरामा पनि लामो समय बन्द रहेको यो सुपरमार्केट सोमबारदेखि संचालनमा आएसंगै पोखरेली उपभोक्ताहरूले पुनः नियमित सेवा पाउन थालेका छन्। सुपरमार्केट लुटपाट मच्चाइएको, खरानी पारिएको भाटभटेनी पुनः ठडिएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले मर्मतपछि भाट–भटेनी पुन सञ्चालनमा ल्याइएको र सम्पूर्ण काम काम सक्न अझै केहि समय लाग्ने बताए ।

भाट–भटेनी पुन संचालनमा आएपछि विशेषगरी दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री लगायतका वस्तुहरु स्थानीय ग्राहकले एकै ठाउँमा पाउन सक्नेछन । सञ्चालक गुरुङले सर्बसाधारण ग्राहकले आँफुहरुप्रति देखाएको धैर्यता, विश्वास र सहयोगप्रति कृतज्ञता जाहेर गर्दै आगामी दिनहरूमा पनि ग्राहकहरूको निरन्तर साथ, सहयोग रहने विश्वास व्यक्त गरे ।

गुरुङका अनुसार स्टोर सोमबारदेखि दैनिक रूपमा बिहान १० बजे खुल्नेछ र नियमित रूपमा सेवा उपलब्ध गराइनेछ । सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलले लामो अन्तरालपछि स्टोर सञ्चालनमा ल्याउन पाउँदा उत्साहित रहेको बताइन् । भाटभटेनीको भित्तामा लेखिएको छ, ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’ आगमी दिनमा पनि ग्राहकहरूलाई सहज, सुरक्षित र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आधुनिक पूर्वाधार, व्यवस्थित सपिङ वातावरण र विविध उपभोग्य सामग्री उपलब्ध गराउँदै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिने जानकारी दिए ।














