काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन्।
शनिबार सार्वजनिक बिदा रहेको भएपनि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेकोमा कतिपयले आश्चर्यको रुपमा समेत लिएका छन राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
यस अगाडी शुक्रबार पनि राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका थिए भने त्यस अगाडी नै राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धी अध्यादेश समेत जारी गरेका थिए । संसद्को अधिवेशन बोलाइसकेको अबस्थामासंसद अधिबेशन एक्कासी रोकेर सरकारले बिभिन्न अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
सरकारले तत्काल आवश्यक ठानेका विषयहरूलाई कानुनी रूप दिन अध्यादेशको बाटो रोजेको जनाएपनि संसद छलेर अध्य्यादेश ल्याईएकोमा सबैजसो राजनीतिक दलले बिरोध गरेका छन । उनीहरुले संसद्को मर्यादालाई उल्लङ्घन गर्दै झन्डै दुई तिहाइको संख्यामा रहेका सत्तारुढ पार्टीका सांसदको समेत बिश्वास नलागेको कारण सरकारले संसद छलेर अध्यादेश जारी गरेको बताउंदै आएका छन ।














