Play

उपन्यासकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि पोखरामा र स्याङ्जाको वालिङमा विमर्श

गुरुकुल खबर


वालिङ, युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि पोखरा र स्याङ्जामा विमर्श गरिएको छ । उक्त उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनलाई आधार मानेर पराजुलीले लेखेका हुन । उपन्यास ‘बखान’ मा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ।

पोखरामा आयोजित कार्यक्रम गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा हिमालयन रिडर्स कर्नरमा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्राडा. कुसुमाकर न्यौपाने र गौरी तमूले टिप्पणी गरेका थिए । त्यस अबसरमा बोल्दै डा. न्यौपानेले बखानसिंह गुरुङको दुखान्त जीवनको कथा उपन्यासमा उल्लेख भएको बताए । कारुणिक भावमा लेखिएको यो उपन्यास वस्तुपरक, यथार्थपरक र अनुसन्धानमुलक भएको न्यौपानेले बताए ।

समीक्षक गौरी तमूले बखान उपन्यास तथ्य र तथ्याङ्कमा आधारित भएको बताइन् । राज्यसत्ताले आदिवासी जनजातिलाई पहिल्यैदेखि थिचोमिचो गरेको पनि उनले बताइन् । त्यसैगरी पाठकीय टिप्पणी राख्दै माया गुरुङले बखान उपन्यासमा गुरुङ जातिको जनजीवन समेटिएको बताइन् । गुरुङ जातिको सामाजिक संस्कार, तनहुँ र चितवनको राजनीतिक आन्दोलन साथै चितवनको वस्ती विकासलाई लेखक पराजुली बखानमा उठान गरेको बताइन् ।

कार्यक्रममा बोल्दै लेखक बसन्त पराजुलीले बखान उपन्यासवाट पाठकहरुवाट धेरै माया पाएको बताए ।

यसैगरी स्याङ्जाको वालिङमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा बखान उपन्यासको विमर्श कार्यक्रम गरिएको थियो । आइतबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले यो उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा मात्र सीमित नरही एउटा सिंगो कालखण्डको इतिहास भएको बताए ।

उपन्यासमा सात सालको क्रान्तिको कथा, तत्कालीन जीवनको यथार्थ चित्रण, नेपाली काँग्रेसको इतिहास, सहकारी आन्दोलन र चितवनको बस्ती विकासको इतिहासलाई पर्यावरणीय चेतका साथउल्लेख गरिएको उनले बताए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै उपन्यासकार वसन्त पराजुलीले ऐतिहासिक तथ्यहरूलाई साहित्यमा उतार्नु जोखिमपूर्ण भए पनि आफूले बखानसिंह गुरुङको योगदानलाई लिपिबद्ध गर्न यो प्रयास गरेको जानकारी दिए । उनले चितवनको राजनीति, समाज र सहकारी क्षेत्रमा गुरुङले पुर्याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

समाजसेवी तथा साहित्यकार ध्रुव शर्मा पंगेनीले ‘बखान’ उपन्यासले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको बताए । यसले तत्कालीन समयको राजनीतिक चेतना मात्र नभएर सामाजिक संरचना बुझ्न भुमिका खेलेको उनको भनाई थियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङजस्ता ओझेलमा परेका पात्रको योगदानलाई पुस्तकका रूपमा ल्याएर लेखकले महत्त्वपूर्ण सामाजिक दायित्व पूरा गरेको भन्दै प्रशंसा गरे ।

कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा लेखकको साहित्यिक व्यक्तित्वमाथि पनि चर्चा गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहेका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कथासङ्ग्रहहरू पाठकमाझ आइसकेका छन् ।

  • श्रीकृष्ण सिग्देल / स्यांग्जा

१३ बैशाख २०८३, आईतवार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा