वालिङ, युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आइतबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् ।
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले यो उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा मात्र सीमित नरही एउटा सिंगो कालखण्डको इतिहास भएको बताए । उपन्यासमा सात सालको क्रान्तिको कथा, तत्कालीन जीवनको यथार्थ चित्रण, नेपाली काँग्रेसको इतिहास, सहकारी आन्दोलन र चितवनको बस्ती विकासको इतिहासलाई पर्यावरणीय चेतका साथउल्लेख गरिएको उनले बताए ।
कार्यक्रममा आफ्ना धारणा राख्दै उपन्यासकार वसन्त पराजुलीले ऐतिहासिक तथ्यहरूलाई साहित्यमा उतार्नु जोखिमपूर्ण भए पनि आफूले बखानसिंह गुरुङको योगदानलाई लिपिबद्ध गर्न यो प्रयास गरेको जानकारी दिए । उनले चितवनको राजनीति, समाज र सहकारी क्षेत्रमा गुरुङले पुर्याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
समाजसेवी तथा साहित्यकार ध्रुव शर्मा पंगेनीले ‘बखान’ उपन्यासले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको बताए । यसले तत्कालीन समयको राजनीतिक चेतना मात्र नभएर सामाजिक संरचना बुझ्न भुमिका खेलेको उनको भनाई थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङजस्ता ओझेलमा परेका पात्रको योगदानलाई पुस्तकका रूपमा ल्याएर लेखकले महत्त्वपूर्ण सामाजिक दायित्व पूरा गरेको भन्दै प्रशंसा गरे ।
कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा लेखकको साहित्यिक व्यक्तित्वमाथि पनि चर्चा गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहेका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कथासङ्ग्रहहरू पाठकमाझ आइसकेका छन् ।
- श्रीकृष्ण सिग्देल / स्यांग्जा














