काठमाडौँ, बालेन्द्र शाह नेतृत्वमा रहेको बर्तमान मन्त्रीमण्डलका सदस्यहरुको सम्पति विवरण सार्बजनिक भएको छ। सार्बजनिक गरिएको विवरण अनुसार हालका प्रधानमन्त्री बालेन्द्र सहित अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ । कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् । विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै धेरै देखिएको छ । त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ।
प्रम बालेन्द्र शाहको सम्पति विवरण
आइतबार सार्वजनिक भएकाे सम्पति विवरण अनुसार प्रधानमन्त्रीले मन्त्रीपरिषदको कार्यालय मार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख गरिएको छ । यसका साथै उनको काठमाडौँमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ । पारिवारिक सम्पत्तिमा धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह (आमा) को नाममा रहेको र महोत्तरीमा रामनारायण शाह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको विवरणमा जनाइएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गर्दै त्यसबाट १ करोड ४६ लाख रुपैया आम्दाने गरेको जनाएका छन ।प्रम बालेन्द्रले श्रीमती सविना काफ्लेको नाममा १ सय ९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन उक्त सुनलाई पैतृक सम्पत्तिको रूपमा जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयमार्फत आइतबार प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएको हो । यसैमा ३ रोपनी, ललितपुरको सानेपामा ३ रोपनी ७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसंग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो। काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।
उनिसंग ४५ तोला सुन रहेको उल्लेख गरिएको छ । पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको सम्पतिबाट उक्त सुन जोडिएको बुझिएको छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ।
उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ। त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।

गृहमन्त्री सुधन गुरुङकाे र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ। गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा उल्लेख गरिएको छ । विशेषगरी, उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
सेयर बजारमा पनि उनको उल्लेख्य लगानी देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीका सेयरहरू गरेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँको लगानी देखाइएको छ । यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।

सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ। बैंक ब्यालेन्सतर्फ, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पैतृक सम्पत्ति भनी जनाइएको छ ।
उधोगमन्त्री गौरीकुमारी यादवको सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात रहेको देखिएको छ । मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ । त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ ।
महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । यसका साथै, महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ । मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १ सय ८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन् ।

बैंक तथा वित्तीय संस्था अन्तर्गत चार लाख रुपैयाँ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ ।
सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ । यसका अतिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् । मन्त्री गौरी कुमारी यादव दीपक साह बर्खास्तीमा परेपछि उद्योग मन्त्रीको जिम्मेवारीमा आएकी हुन् । उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनालको काठमाडौँको टोखामा घर रहेको छ । यस्तै तीन जिल्लामा जग्गाजमिन रहेको छ।विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ । जग्गाजमिनतर्फ उनको पुर्ख्यौली तथा स्वआर्जित सम्पत्ति तीन जिल्लामा फैलिएको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ। नगद तथा जिन्सी सम्पत्तिमा उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।

खनालको विभिन्न कम्पनी र शेयर बजारमा समेत लगानी रहेको छ। उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व रहेको उल्लेख गरेका छन्। त्यस्तै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंकलगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि उनको लगानी रहेको छ। सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोग गरिरहेका छन्। उनले ७५ लाख ऋण रहेको पनि खुलाएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, ९० लाख नगद, सुन र चाँदी रहेको उल्लेख छ । सार्वजनिक गरिएको विवरणमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मा १ कठ्ठा १० धुर जग्गा जमुना लम्सालको नाममा रहेको खुलाइएको छ । त्यसैगरी, जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा रहेको पनि उल्लेख छ ।

पारिवारिक सम्पत्तिको रूपमा बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको पनि विवरणमा जनाइएको छ मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको जनाइएको भए तापनि सो रकम कुन बैंकमा छ भन्ने स्पष्ट खुलाइएको छैन । मन्त्री लम्सालको सेयर बजार कारोबारसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको छैन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमकाे करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको छ । मन्त्री गौतम दोस्रो पटक सांसद भएकी हुन् भने पहिलो पटक मन्त्री बनेकी हुन् । मन्त्री गौतमले चितवनस्थित भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको उल्लेख गरेकी छन् । यो जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भनी विवरणमा जनाइएको छ ।

उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको देखिएको छ । एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ । मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको उल्लेख गरिएको छ। यसका साथै, ९ तोला चाँदी र विवाहमा प्राप्त भएको १ तोला हिरा पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन् । यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्। सार्वजनिक गरिएको विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ । यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा, उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी छ, जसको मूल्य साढे २ करोड रुपैयाँ जनाइएको छ । आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा र गोकर्णेश्वरमा अर्को डेढ करोडको जग्गा रहेको देखाइएको छ । आमालगायत सम्पूर्ण परिवारको नाममा गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ जनाइएको छ। उनीसँग २५ हजार रुपैयाँ नगद पनि रहेको उल्लेख छ। यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिर र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले खुलाएका छन् । बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको उल्लेख छ । यसैगरी, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ।
सवारी साधनतर्फ, बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने एक थान ईभी कार र मन्त्री पोखरेलको व्यक्तिगत नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख छ। उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि आफ्नो विवरणमा जनाएका छन् । यी सबै सम्पत्ति र दायित्वहरू समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको जनाएका छन्।
कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ । मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ ।

विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ। मन्त्री चौधरीको सम्पत्तिको सबैभन्दा रोचक विवरणमा उनले माइतीबाट प्राप्त गरेका २ वटा बाख्रा र १० वटा कुखुरा पनि समावेश छन्, जसलाई उनले सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरेकी छन् ।















