पोखरा, पोखराका ब्यबसायी आनन्दराज बतासले फेवाताल किनारमा ६५ मिटरको मापदण्ड लागु गर्दा उक्त मापदण्ड भित्र बनेका महत्वपूर्ण संरचनाहरु बिनास गर्नुभन्दा राज्यले सार्बजनिक हितको लागि उपयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन ।
फेवाताल किनारामा बर्षौं अगाडी बनेको वाटर फ्रन्ट रिसोर्ट सहितका दर्जनौं संरचनामा शनिबार बिहानैबाट डोजर चलाइएपछि बतासले आंफ्नो सामाजिक संजालमा उक्त धारणा सार्बजनिक गरेका हुन ।
नेपाल मणिपाल अस्पताल पोखराका अध्यक्ष समेत रहेका बतासको धारणालाई कतिपयले उपयुक्त विचार मानेका छन भने कतिपयले ताल अतिक्रमण गर्नेहरुलाई जोगाउने खेल भन्दै प्रतिक्रिया दिएका छन ।
फेवातालको ६५ मिटरको मापदण्ड भित्र फिस्टेल लज देखि तत्कालिन राजाको दरबार भनिने रत्न मन्दिर र हिमा गृह जस्ता एतिहासिक महत्व बोकेका र आकर्षक संरचना समेत रहेका छन । तिनै संरचना भत्काएर बिनास हुन थालेपछि बतासले त्यस्ता संरचना पर्यटकीय लाभ र सार्बजनिक हितमा प्रयोगमा ल्याउनु उपयुक्त हुने बताएका हुन ।
शनिबार पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र बनेका संरचना हटाउन डोजर चलाईएपछि ब्यबसायी बतासले फेवाताल किनारामा रहेका केहि महत्वपूर्ण संरचनाको नाम उल्लेख गरेर धारणा सार्बजनिक गरेका हुन ।
त्यस्ता संरचनाहरुमा डोजर चलाएर भत्काउने र बिनास गर्ने भन्दा तिनलाई जोगाउने र सार्बजनिक हित र पर्यटकीय दृष्टिकोणले लाभ लिने मिल्नेगरी रचनात्मक प्रयोगमा ल्याउनु नै उत्तम विकल्प हुने उनको भनाई छ ।
प्रतिष्ठित पर्यटन ब्यबसायी कर्ण शाक्यको स्वामित्वमा रहेको वाटर फ्रन्ट रिसोर्टको स्विमिंग पुल डोजर लगाएर भत्काउँदै गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा राख्दै पोखराका ब्यबसायी आनन्दराज बतासले लेखेको कुरा यस्तो छ ..
‘फेवातालको ६५ मिटर मापदण्ड लागू गर्दा फिस्टेल लज, हिमा गृह र स्विमिङ पुल जस्ता भौतिक सम्पत्तिहरूलाई जोगाउनु आवश्यक छ। यी संरचनाहरूलाई विनास गर्नुभन्दा सार्वजनिक हित र पर्यटकीय लाभका लागि रचनात्मक प्रयोगमा ल्याउनु नै उत्तम विकल्प हुन सक्छ।’
















